काठमाडौं - भोटेकोशी बाढीमा परेर जोगिएकाहरुलाई अर्को सकस आइलागेको छ । बाढी प्रभावित क्षेत्रमा झाडापखाला देखिन थालेको छ । खानेपानीका स्रोतहरू नै यो महामारी विस्तारका लागि सहयोगी बन्दै गएको विज्ञहरूले फेला पारेका छन् । १५ सय हाराहारीको लास भेटिएको, त्योभन्दा निकै ठूलो संख्या अर्थात् पाँचहजारको हाराहारीमा वेपत्ता रहेका र पशुपक्षीहरूको संख्या कति थियो भन्ने अनुमानसमेत नभएका अवस्थामा महामारीको प्रकोप झनै डरलाग्दो हुने देखियो भने त्यो अस्वाभाविक भने होइन ।
यो महाविपत्तिबाट कति विस्थापित भए भन्ने अहिलेसम्म यकिन भएको छैन भने जेनतेन जोगिएकाहरूको बसोबास कहाँ छ भन्ने पनि उत्तिकै अन्योलमा छ । यस्तो बेला हैजा फैलिने जोखिम बढ्छ नै । त्यसै पनि विपत्तिपछिको अवस्थाका बारे सरकार त्यहाँको हरेक मोर्चामा एकपछि अर्को गर्दै कमजोरीहरू प्रकट गरिहेको छ । जस्तो कि सुरुङमा फसेकाहरूको संख्या त्यसैदिन यकिन भएको हो तर तिनको उद्धारको काम छ सातदिनपछिमात्र थालियो । पहिले विज्ञहरूलाई आउनै दिइएन । यस्तो काम अर्थात् विज्ञलाई तत्कालै बोलाउने काम सरकारकै हो । यस्तायस्ता त्रटीहरू धेरै भइसकेका छन्, जो हुनहुने थिएन ।
उद्धारमा मात्र होइन उद्धारपछिको व्यवस्थापनमा समेत कमजोरीहरू देखिएका छन् । जस्तो राहत वितरणमा सरकार सफल देखिएको छैन । एकातिर राहतको थुप्रो लागेको छ भने अर्कातिर थोपो पनि पुगेको छैन । स्थानीय निकायहरूलाई सरकारले सरुदेखि नै बाइपास गर्दै आइरहेको कारण यो समस्या देखिएको हो । प्रधानमन्त्रीले प्रदेशका मुख्यमन्त्रीलाई नै नभेटका कुरा सार्वजनिक भइसकेका छन् । स्थानीय निकायले जतिको स्थानीयलाई केन्द्रले पहिचान गर्न सक्दैन । यो कुरा सरकारले बुझेन । यसले कतिपय उद्धार र राहतमा विसंगतिहरू बढेको अवस्था छ । यस्तो बेला बाढी प्रभावित क्षेत्रमा झाडापखाला फैलियो भने त्यसले अर्को महामारीको रूप लिन जान्छ, जो स्वाभाविक पनि हो ।
होल्डिङ सेन्टरको वातावरण स्वस्थ राख्न बेलैमा ध्यान दिन जरुरी छ । एक हप्ता पहिलेदेखि त्यहाँ झाडापखाला देखिन थालेको समाचार छ । अहिले त्यो निकै विस्तार भएको पाइएको छ । यो अवस्थालाई मध्यनजर गरेर नै स्वास्थ्य मन्त्रालयले हैजाविरुद्धको २१ हजार खोप र एक हजारभन्दा बढी प्याकेट जीवनजल त्यो क्षेत्रमा पठाइएको बताइएको छ । बाढी प्रभावितलाई राखिएका नुवाकोट र रसुवाका केही होल्डिङ सेन्टर अहिले प्रभावितमा परेका देखिन्छ । झाडापखाला देखिन थालेपछि त्यसले नै ती क्षेत्रमा हैजासमेत फैलउने हुन्छन् । त्यसै पनि ठूलो भूभाग बगर बनेको छ । त्यसभित्र कस्ताकस्ता जीवनहीन प्राणीहरू होलान् भन्ने अनुमान गर्न सकिन्छ । त्यसै पनि बाढीग्रस्त क्षेत्रमा महामारीका जोखिम जहिले पनि कायम रहन्छ नै । अहिलेको बाढीले पु¥याएको क्षतिको आयतन निके नै ठूलो छ ।
होल्डिङ सेन्टहरुमा महामारी फैलियो भने त्यसले अर्को विनास निम्त्याउँछ । भर्खरमात्रै बाढी प्रभावित विदुरका १५ खानेपानी स्रोतको परीक्षण गर्दा ५ वटामा हानिकारक जीवाणु भेटिएका समाचार आइरहेका छन् । यो बाढीपछि खानेपानी आपूर्ति अवरुद्ध भएका थिए । जसले विस्थापितहरू दूषित पानी प्रयोग गर्न बाध्य भएका अवस्था बन्यो । खानेपानीको स्रोतबाट नै झाडापखाला, हैजा, टाइफाइड र हेपाटाइटिसको जोखिम बढाउने जीवाणु देखिएपछि यो अर्को प्रकोप बन्न सक्ने खतरा हुन्छ । त्यसको रोकथामका लागि सरकारले के गरिरहेको छ भने फाटफुटबाहेक जानकारी नै आइरहेको देखिँदैन । तसर्थ, महामारीबाट जोगिएकाहरु फेरि महामारीको जोखिममा पर्न नदिन सरकारले समयमै सावधानी र रोकथामका उपायहरु अपनाउनुपर्दछ । सबै सरोकारवालाहरुको साथ लिएर सरकारले महामारीविरुद्ध अभियान नै चलाउनुपर्दछ ।
प्रतिक्रिया