ढाका उद्योगले फेरियो तमानखोलाका महिलाको जीवन, मासिक ५० हजारसम्म आम्दानी

आइतबार, १७ जेठ २०८३, १७ : ११

गलकोट- बागलुङको तमान गाउँका जमूना घर्तीलाई ढाकाका कपडा बुन्न भ्याइनभ्याइ छ । तमानखोला गाउँपालिका(३ मा रहेको महिला कल्याण आमा समूहको भवनमा बिहानैदेखि ढाकाको अस्कोट बुन्दै गरेकी घर्तीले आफू जस्तै १५ जना महिलाले हरेक दिन ढाकाका विभिन्न कपडा बुन्दै आएका बताइन । 
 
ढाका उद्योगमार्फत महिलालाई आत्मनिर्भर बनाउने पहलअन्तर्गत तमानखोलाले महिलालाई ढाका उद्यमी बनाउनेदेखि उत्पादन खरिद गर्नेसम्मका काममा सघाउँदै आएको छ । ढाकाका सल, टोपी, गलबन्दी र अस्कोट बुन्ने र बिक्रीमार्फत यहाँका महिला आत्मनिर्भर बन्दै आएका छन् । 

महिलाले उत्पादन गरेका कपडा तमानखोला गाउँपालिकाको कार्यालयले खरिद गरी बिक्रीमा सहजीकरण गरिरहेको घर्तीले बताइन । करिब सात वर्ष पहिले म्याग्दीबाट आएका प्रशिक्षकमार्फत गाउँमा ढाकाका कपडा उत्पादन गर्ने सीप सिकेका महिलालाई समूहमा आबद्ध गराएर थप व्यावसायिक बनाउन गाउँपालिकाले लगानी गरेको हो । 

महिलालाई व्यावसायिक, स्वरोजगार र उद्यमी बनाउन पालिकाले सात वर्ष पहिलेदेखि सीप सिकाउने, तान प्रदान गर्ने, समूहको भवन निर्माण गरिदिने, उत्पादित खरिद गरी बिक्रीमा सहजीकरण गर्नेलगायत काम गर्दै आएको छ । 

“पालिकाले विभिन्न कार्यक्रम आयोजना गरिरहेको हुन्छ । ती कार्यक्रममा मायाको चिनो स्वरुप महिलाले उत्पादन गर्दै आएका सल, गलबन्दी प्रयोग गर्दै आएका छौँ । ज्येष्ठ नागरिक सम्मान जस्ता कार्यक्रममा टोपी, गलबन्दी र अस्कोट प्रयोग गर्दै महिलाका उत्पादनको बजारीकरण गरिरहेका छौँ”, गाउँपालिकाका उपाध्यक्ष हिराकुमारी छन्त्यालले भनिन्।

गाउँपालिकाले सात वर्ष पहिले महिलाका लागि सीपमूलक तालिम दिनुका साथै आवश्यक सामाग्री उपलब्धध गराउनुका साथै भवन बनाउन पनि सहयोग गरेको छन्त्यालले जानकारी दिइन् ।  उनका अनुसार अहिलेसम्म सामग्री, भवन, प्रशिक्षणलगायत गतिविधिका लागि पालिकाले रु २५ लाख लगानी गरिसकेको छ । यहाँका महिलाले ढाकाका कपडा बुनेर मासिक रु ५० हजारसम्म आम्दानी गर्दै आएका उपाध्यक्ष छन्त्यालले जानकारी दिइन । 

सुरुवातका दिनमा आफूले उत्पादन गरेका सामग्री बिक्री नभएर सास्ती भएपनि पछिल्लो समय पालिकाले खरिद गरिदिन थालेपछि महिला उत्साहित भएका घर्तीले बताइन् । महिला कल्याण आमा समूहको कोषाध्यक्षसमेत रहनुभएकी उनले पालिकाको साथ र सहयोगले तमानगाउँका महिलालाई उद्यमी बनाउनुका साथै आत्मनिर्भर बनाउँदै लगेको धारणा राखिन । 

 
आइतबार, १७ जेठ २०८३, १७ : ११

प्रतिक्रिया