निशानामा स्वदेशी उत्पादन

स्वदेशी उद्योगका उत्पादनप्रति खाद्य परीक्षणमा अत्यधिक कडाइ, नेपाली ब्रान्डमाथि बारम्बार प्रहार

मंगलबार, १९ जेठ २०८३, १७ : ००

काठमाडौंं– नेपालमा उत्पादित केही खाद्य सामग्रीहरू समय–समयमा गुणस्तर परीक्षणमा असफल भएको तथ्यहरू सार्वजनिक हुने गरेका छन् । विशेष गरी खजुरीको पफ, करेन्ट चाउचाउ, लाली चाउचाउ तथा वाइवाइ चाउचाउजस्ता लोकप्रिय ब्रान्डहरू विभिन्न समयमा नियामक निकायको परीक्षणमा मापदण्डअनुसार नभेटिएको भन्दै चर्चा र विवादमा आएका छन् । यसले उपभोक्तामाझ एउटा प्रश्न उठाएको छ—के नेपाली उत्पादनहरू वास्तवमै गुणस्तरहीन छन्, वा नियामक निकायले स्वदेशी उद्योगप्रति अत्यधिक कडाइ गरिरहेको छ ?

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारमा उपलब्ध खाद्य वस्तुको नियमित नमुना संकलन गरी परीक्षण गर्ने जिम्मेवारी पाएको छ । विभागका अनुसार कुनै पनि उत्पादन गुणस्तरहीन ठहरिनु भनेको सम्पूर्ण उद्योग वा ब्रान्ड नै खराब भएको निष्कर्ष होइन । उत्पादनको कुनै निश्चित ब्याच वा लटमा मापदण्डभन्दा फरक तत्त्व भेटिएमा त्यसलाई गुणस्तरहीन वा न्यून गुणस्तरको श्रेणीमा राख्ने गरिन्छ ।

गत वर्ष खजुरीको नेपाल प्राइभेट लिमिटेडले उत्पादन गरेको पफ गुणस्तरहीन रहेको भन्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारबाट फिर्ता ल्याउन निर्देशन दिएको थियो । विभागले परीक्षण गर्दा उक्त पफमा मानव स्वास्थ्यका लागि हानिकारक औद्योगिक ट्रान्स फ्याट निर्धारित सीमाभन्दा धेरै मात्रा भेटिएको जनाए पश्चात् उक्त कुरालाई कम्पनीले उत्पादनको सिलसिलामा गल्ती भएको स्वीकार गरी तत्काल बजारबाट सामान फिर्ता लिएको थियो ।

त्यस्तै केही समय अगाडि मात्र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले यशोदा फुड्स प्रालिद्वारा उत्पादित ‘करेन्ट’ र ‘लाली’ ब्रान्डका चाउचाउ गुणस्तरहीन रहेको भन्दै तत्काल बजारबाट फिर्ता गर्न आदेश दिएको थियो । विभागले बजार अनुगमनका क्रममा संकलन गरेका नमुनाको प्रयोगशालामा परीक्षण गर्दा यी दुवै उत्पादन नेपाल सरकारले निर्धारण गरेको अनिवार्य गुणस्तर मापदण्डअनुसार नरहेको प्रमाणित गरेको थियो ।

परीक्षणका क्रममा चाउचाउमा प्रयोग गरिएको एक्सट्राक्टेड फ्याटको एसिड भ्यालु मापदण्डअनुरूप नभएको विभागले पुष्टि गरेको थियो । यशोदा फुड्सबाट उत्पादन हुँदै आएका १०० ग्रामको ‘करेन्ट नुडल्स’ र ५० ग्रामको ‘लाली चाउचाउ’ गुणस्तरहीन भेटिएपछि विभागले बजारमा रहेका ती उत्पादन तत्काल फिर्ता गर्न आदेश जारी गरेको थियो ।

त्यस्तै, चौधरी ग्रुपले उत्पादन गरेको वाइवाइ चाउचाउको गुणस्तर पनि समय समयमा फेल भएको तथ्य बाहिर आउने गरेको छ । २०८१ सालमा काठमाडौं महानगरपालिकाको बजार अनुगमन समितिले गरेको अनुगमनले वाइवाइ चाउचाउमा गुणस्तर नभएको पुष्टि गरेको थियो । महानगरले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना तिराउँदै गुणस्तरहीन चाउचाउ सबै फिर्ता गर्न निर्देशनसमेत दिएको थियो ।

विशेषज्ञहरूका अनुसार नेपालमा खाद्य उद्योगहरू विस्तार भइरहेका भए पनि उत्पादन प्रक्रियामा आवश्यक गुणस्तर नियन्त्रण प्रणाली सबै उद्योगमा समान रूपमा लागू हुन सकेको छैन । कच्चा पदार्थको गुणस्तर, उत्पादन वातावरण, भण्डारण प्रणाली तथा ढुवानी प्रक्रियामा हुने कमजोरीका कारण कतिपय उत्पादन परीक्षणमा असफल हुने गरेका छन् । विशेष गरी चाउचाउ, स्न्याक्स तथा प्रशोधित खाद्य वस्तुहरूमा तेलको गुणस्तर, आर्द्रता, सूक्ष्म जीव तथा लेबलिङसम्बन्धी मापदण्ड पूरा नभए समस्या देखिने गर्छ ।

उद्योगीहरूको तर्क भने केही फरक छ । उनीहरूका अनुसार स्वदेशी उद्योगहरू नियामक निकायको प्रत्यक्ष निगरानीमा हुने भएकाले पनि उत्पादन बढी परीक्षणमा पर्ने गर्दछ । आयातित खाद्य वस्तुहरूको तुलनामा घरेलु उद्योगका उत्पादनको नमुना बारम्बार संकलन गरिने भएकाले कमजोरी भेटिने सम्भावना पनि स्वाभाविक रूपमा बढ्छ । कतिपय उद्योगीले परीक्षण प्रक्रियामा पारदर्शिता र एकरूपताको आवश्यकता रहेको बताउँदै आएका छन् ।

खजुरीको नेपाल प्राइभेट लिमिटेडका बजार प्रमुख किशोर कोइराला पनि सोही समस्या औँल्याउँदै भन्छन्, “सरकारले स्वदेशी उत्पादनको प्रचार गर्नुको सट्टा बाह्य देशको उत्पादनलाई प्रोत्साहन हुने गरी उच्च स्थान दिनु नै नेपाली उत्पादनका लागि दुर्भाग्य साबित भएको छ । स्थापना समयदेखि नै खजुरीले आफ्ना उत्पादनहरूमा गुणस्तरीयता कायम गर्दै आएको छ । तर कहिलेकहीँ प्रतिस्पर्धी कम्पनीले हाम्रो बजारलाई तल पार्नका लागि सामान्य कुरालाई पनि अनावश्यक रूपमा मिडियाबाजी गर्ने प्रवृत्ति र सोही अनुरूपमा अनुगमनलाई समेत दुरुपयोग गरी रणनीतिक रूपमा सुनियोजित तरिकाबाट गलत प्रचार गरी गुणस्तरहीन भनी प्रमाणित गर्ने गरिएको छ । र त्यसमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको भूमिका पनि संकास्पद रहने गरेको छ ।”

कम्पनीले उत्पादन गर्दा सामग्रीको गुणस्तर र उपभोक्ता हितलाई उच्च प्राथमिकतामा राख्दै आएको कोइराला बताउँछन् । तर कुनै समय कारणवश उपभोक्ता माझ समयमा नै सामान नपुग्दा बाटोमा नै बिग्रने र विक्रेताले त्यसलाई ध्यान नदिई व्यापार गर्दा देखिएको समस्यालाई केही मिडियाहरूले समेत अफवाह फैलाउने गरेको उनले बताए । त्यसैले त्यस्ता मिथ्या सूचनाहरूबाट आम उपभोक्ताहरु पनि सचेत हुनुपर्ने कोइरालाले आजको अर्थसँगको कुराकानीमा बताए ।

उपभोक्ता अधिकारकर्मीहरू भने नियामक निकायको कडाइलाई सकारात्मक रूपमा हेर्छन्। उनीहरूका अनुसार उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्धित विषय भएकाले स्वदेशी वा विदेशी भन्ने आधारमा फरक व्यवहार हुनु हुँदैन। बजारमा बिक्री हुने प्रत्येक खाद्य सामग्रीले समान मापदण्ड पूरा गर्नुपर्छ। यदि कुनै नेपाली उत्पादन परीक्षणमा असफल हुन्छ भने त्यसलाई सुधारका लागि अवसरका रूपमा लिनुपर्ने उनीहरूको भनाइ छ।

वास्तवमा हेर्दा गुणस्तर परीक्षणमा असफल भएका केही उत्पादनको आधारमा सम्पूर्ण नेपाली उद्योगलाई गुणस्तरहीन भन्न मिल्दैन। नेपालमा अन्तर्राष्ट्रिय स्तरका उत्पादन गरिरहेका धेरै खाद्य उद्योगहरू पनि छन्, जसले स्वदेशमा मात्र होइन विदेशमा समेत आफ्ना उत्पादन निर्यात गरिरहेका छन्। यसले नेपाली उद्योगमा गुणस्तर कायम गर्न सकिने क्षमता रहेको पुष्टि गर्छ । अर्कोतर्फ, गुणस्तर परीक्षणमा बारम्बार समस्या देखिनुले उद्योग क्षेत्रभित्र अझै सुधारको आवश्यकता रहेको संकेत पनि गर्छ। उत्पादन प्रक्रिया आधुनिक बनाउने, प्रयोगशाला परीक्षण नियमित गर्ने, कर्मचारीलाई तालिम दिने तथा अन्तर्राष्ट्रिय खाद्य सुरक्षा प्रणाली लागू गर्ने विषयमा उद्योगहरूले थप लगानी गर्नुपर्ने देखिन्छ ।

विश्लेषकहरूका अनुसार नियामक निकायको कडाइलाई उद्योग विरोधी कदमका रूपमा भन्दा पनि उपभोक्ता संरक्षणको उपायका रूपमा बुझ्नुपर्छ। गुणस्तर परीक्षणको दायरा स्वदेशी र आयातित दुवै उत्पादनमा समान रूपमा लागू हुन सकेमा निष्पक्षता अझ बलियो हुनेछ । साथै परीक्षणका नतिजा सार्वजनिक गर्दा स्पष्ट तथ्य, वैज्ञानिक आधार र सुधारका सुझावसमेत प्रस्तुत गरिनु आवश्यक छ ।

नेपाली खाद्य उत्पादनहरू स्वभावतः गुणस्तरहीन छन् भन्ने धारणा तथ्यपरक देखिँदैन । तर केही उत्पादनमा पटक–पटक देखिएका कमजोरीले उद्योग क्षेत्रले गुणस्तर व्यवस्थापनमा थप ध्यान दिनुपर्ने आवश्यकता अवश्य देखाएको छ । नियामक निकायको कडाइ र उद्योगहरूको जिम्मेवारीबिच सन्तुलन कायम हुन सकेमा उपभोक्ताले सुरक्षित तथा गुणस्तरीय खाद्य वस्तु प्राप्त गर्ने वातावरण अझ सुदृढ बन्नेछ ।

 
मंगलबार, १९ जेठ २०८३, १७ : ००

प्रतिक्रिया