काठमाडौं- औद्योगिक क्षेत्रका भौतिक संरचना प्रयोग गरेबापत उद्योगीहरूले गत असार मसान्तसम्म राज्यकोषमा ४६ करोड ८६ लाख रुपैयाँ महसुल दाखिला गरेका छन्। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अनुसार देशभर रहेका विभिन्न १० वटा औद्योगिक क्षेत्रमा सञ्चालित उद्योगबाट उक्त रकम संकलन गरिएको हो।
लिमिटेडका सूचना अधिकारी वासुदेव सोडारीका अनुसार देशभरका औद्योगिक क्षेत्रमा सञ्चालनमा रहेका ३०० भन्दा बढी उद्योगको करिब ८८ करोड रुपैयाँ महसुल बक्यौता रहेको छ। बक्यौता उठाउन लिमिटेडले कडाइका साथ असुली अभियान अघि बढाएको जनाएको छ।
बक्यौता रकम पटक–पटक ताकेता गर्दा पनि नतिर्ने १० उद्योगको विद्युत् आपूर्ति काटिएको सूचना अधिकारी सोडारीले जानकारी दिए। उनका अनुसार कन्टिनेन्टल ग्रुपअन्तर्गतका दुई उद्योगले मात्रै करिब ४ करोड रुपैयाँ महसुल बक्यौता राखेका छन्। बक्यौता असुलीलाई प्रभावकारी बनाउन आवश्यक कानुनी प्रक्रिया तथा प्रशासनिक कदमहरू निरन्तर अघि बढाइने लिमिटेडले जनाएको छ।
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले समयमै महसुल बुझाई औद्योगिक क्षेत्रको सेवा तथा पूर्वाधारको दिगो व्यवस्थापनमा सहयोग गर्न उद्योगीहरूलाई आग्रह गरेको छ।
प्रतिक्रिया