काठमाडौं नेपाली अटो बजारमा नयाँ प्रिमियम इलेक्ट्रिक एसयूभी अवतार–०७ भित्रिएको छ । एमएडब्लू ग्रुप अन्तर्गतको एमएडब्लू वृद्धिले नेपालमा यो बहुप्रतिक्षित इलेक्ट्रिक गाडी ल्याएको हो । कम्पनीले छिट्टै यसको आधिकारिक बिक्री सुरु गर्ने तयारी गरिरहेको जनाएको छ ।
हालै नेपाल सरकारले बजेटमार्फत विद्युतीय सवारीसाधनको कर संरचनामा परिवर्तन गरेका बेला अवतार–०७ नेपाली बजारमा प्रवेश गरेको हो । यद्यपि, कम्पनीले यसको मूल्य भने अझै सार्वजनिक गरेको छैन ।
अवतार–०७ आधुनिक डिजाइन र अत्याधुनिक प्रविधिका कारण चिनियाँ बजारमा समेत चर्चित मोडलका रूपमा स्थापित भइसकेको छ । चीनमा बिक्री सुरु भएको पहिलो २० घण्टामै ११ हजार ६७३ युनिट बुकिङ प्राप्त गर्न सफल भएको यो एसयूभीले छोटो समयमै ग्राहकको ध्यान तानेको थियो ।
डिजाइनका हिसाबले अवतार–०७ कम्पनीको अघिल्लो मोडल अवतार–११ भन्दा केही फरक देखिन्छ । यसमा फ्ल्याटर रुफलाइन, ठूलो कार्गो स्पेस तथा आकर्षक बाह्य डिजाइन समावेश गरिएको छ। फ्रन्ट भागमा डबल–लेयर्ड एलईडी डीआरएल प्रयोग गरिएको छ भने परम्परागत साइड मिररको सट्टा क्यामेरा आधारित प्रणाली उपलब्ध गराइएको छ ।

इन्टेरियरमा १५.६ इन्चको सेन्ट्रल टचस्क्रिन, ३५.४ इन्चको स्लीम डिस्प्ले र फरक शैलीको स्टेयरिङ ह्वील समावेश गरिएको छ । पछाडि बस्ने यात्रुलाई समेत मनोरञ्जन प्रदान गर्ने गरी डिस्प्ले सिस्टम डिजाइन गरिएको कम्पनीको दाबी छ ।
यसबाहेक जिरो ग्राभिटी सिट, मेरिडियन अडियो सिस्टम र २५ वटा स्पिकरको संयोजनले यात्रालाई थप आरामदायी र मनोरञ्जनपूर्ण बनाउने अपेक्षा गरिएको छ ।
पर्फर्मेन्सतर्फ, अवतार–०७ ८०० भोल्ट आर्किटेक्चरमा आधारित छ । चीनमा यो रियर ह्वील ड्राइभ (आरडब्लुडी) र अल ह्वील ड्राइभ (एडब्लुडी) दुवै भेरियन्टमा उपलब्ध भए पनि नेपालमा कुन भेरियन्ट ल्याइएको हो भन्ने जानकारी कम्पनीले सार्वजनिक गरेको छैन ।
रियर ह्वील ड्राइभ संस्करणमा २५२ किलोवाट क्षमताको इलेक्ट्रिक मोटर जडान गरिएको छ, जसले गाडीलाई ० देखि १०० किलोमिटर प्रतिघण्टा गति मात्र ६.३ सेकेन्डमा पु¥याउन सक्छ ।
सीएटीएलद्वारा निर्मित ८२.१६ किलोवाट आवरको एलएफपी ब्याट्री प्रयोग गरिएको अवतार–०७ मा फास्ट चार्जिङ सुविधा उपलब्ध छ । कम्पनीका अनुसार फास्ट चार्जरमार्फत ब्याट्रीलाई २० मिनेटमै ३० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।
आकारका हिसाबले अवतार–०७ को लम्बाइ ४,८२५ एमएम, चौडाइ १,९८० एमएम र उचाइ १,६२० एमएम रहेको छ भने यसको ह्वीलबेस २,९४० एमएम छ । ठूलो ह्वीलबेस र प्रिमियम फिचरका कारण यो एसयूभी नेपाली बजारमा प्रिमियम ईभी सेग्मेन्टको बलियो प्रतिस्पर्धी बन्न सक्ने अनुमान गरिएको छ ।
प्रतिक्रिया