काठमाडौं- उपत्यकाका सुनचाँदी व्यवसायी संघ/संस्थाहरूको संयुक्त बैठक सम्पन्न भएको छ । बैठकले बजार व्यवस्थापन, व्यवसायिक अनुशासन तथा व्यवसायीका साझा हितसँग सम्बन्धित विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको जनाएको छ ।
संस्थागत अनुशासनलाई कडाइ गर्ने क्रममा कुनै पनि संघ वा संस्थाबाट निष्कासित सदस्यलाई अर्को संस्थामा सदस्यता प्रदान नगर्ने निर्णयसमेत बैठकले गरेको छ । बैठकका संयोजक खेम तिरुवाले व्यवसायिक मर्यादा र संस्थागत अनुशासन कायम राख्न यस्तो निर्णय आवश्यक रहेको बताए ।
व्यवसायीहरूले भोग्दै आएका सुरक्षा तथा अन्य समस्याहरूको समाधानका लागि प्रहरी प्रशासनसँग आवश्यक समन्वय गर्ने जिम्मेवारी विभिन्न प्रतिनिधिहरूलाई तोकिएको पनि संयोजक तिरुवाले बताए ।
त्यसैगरी, उपत्यकाभित्र सञ्चालनमा रहेका सबै सुनचाँदी पसलहरू प्रत्येक शनिबार बन्द गर्ने निर्णय पनि गरिएको छ । व्यवसाय सञ्चालनलाई थप व्यवस्थित बनाउने तथा बजारमा समान अभ्यास कायम गर्ने उद्देश्यले उक्त निर्णय गरिएको ललितपुर सुनचाँदी व्यवसायी संघका अध्यक्ष सुबिन बज्राचार्यले आजको अर्थ सँगको कुराकानीमा भने ।
अध्यक्ष फोरममार्फत उपत्यकाका सुनचाँदी व्यवसायीहरूबीच कार्यगत एकता, साझा नीति निर्माण तथा व्यवसायिक हितका विषयमा संयुक्त पहल अघि बढाउने निर्णयसमेत गरेको अध्यक्ष बज्राचार्यले जानकारी दिए ।
अध्यक्ष बज्राचार्यले भने, ‘बैठकले ग्राहकबाट सुनका गरगहना खरिद गर्दा प्रचलित बजार मूल्यभन्दा ५ प्रतिशत कम मूल्यमा खरिद गर्ने निर्णय गरेको छ । उक्त निर्णयले बजारमा मूल्य निर्धारणमा एकरूपता ल्याउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।’
बैठकमा सहभागी व्यवसायीहरूले बजारको स्थायित्व, व्यवसायिक वातावरण सुधार तथा व्यवसायीहरूको हकहित संरक्षणका लागि आगामी दिनमा पनि सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रतिक्रिया