काठमाडौं- स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड (SCBNL) ले विश्व वातावरण दिवसको अवसरमा आज कीर्तिपुरस्थित आदिनाथ सामुदायिक वनमा वृक्षारोपण कार्यक्रम आयोजना गरेको छ ।
यस कार्यक्रममा करिब ३५० जना कर्मचारी तथा स्थानीय समुदायका सदस्यहरूको सहभागिता रहेको थियो । कार्यक्रममा फलफूल दिने, फूल फुल्ने तथा छायाँ प्रदान गर्ने विभिन्न प्रजातिका ५०० बिरुवा रोपिएका थिए । यस गतिविधिले स्थानीय हरियाली प्रवद्र्धन, जैविक विविधताको संरक्षण तथा दीर्घकालीन वातावरणीय दिगोपनामा योगदान पुर्याउने लक्ष्य राखेको छ ।
कार्यक्रमको शुभारम्भ SCBNL का प्रमुख कार्यकारी अधिकृत (CEO) तथा हेड अफ कभरेज गोरख राना र आदिनाथ सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष केदार बस्नेतले संयुक्त रूपमा पहिलो बिरुवा रोपेर गरेका थिए।

श्री रानाले हरित भविष्य निर्माणका लागि स्वयंसेवी कार्यमा उत्साहपूर्वक सहभागी भएका कर्मचारीहरूलाई धन्यवाद व्यक्त गर्दै भने, “यस वर्ष स्ट्यान्डर्ड चार्टर्ड बैंकमा कर्मचारी स्वयंसेवाको २० वर्ष पूरा भएको छ । यी वर्षहरूमा SCBNL का कर्मचारीहरूले ललितपुर जिल्ला तथा कीर्तिपुर क्षेत्रमा करिब ४० हजार बिरुवा रोप्न सहयोग गरेका छन् । आजको प्रयासले यो संख्यामा थप वृद्धि गरेको छ । प्रत्येक रूखले केवल हरियाली मात्र होइन, आशा, जिम्मेवारी र भावी पुस्ताप्रतिको हाम्रो प्रतिबद्धताको प्रतिनिधित्व गर्दछ ।”
बैंकको वार्षिक विशेष कार्यक्रमका रूपमा सञ्चालन हुँदै आएको यो वृक्षारोपण अभियानले भावी पुस्तामा लगानी गर्ने र वातावरणीय संरक्षणको सशक्त संस्कार विकास गर्ने बैंकको निरन्तर प्रतिबद्धतालाई अझ मजबुत बनाएको छ । यो कार्यक्रम विश्व वातावरण दिवस २०२६ को “प्रकृतिबाट प्रेरित । जलवायुका लागि। हाम्रो भविष्यका लागि ।” भन्ने विश्वव्यापी नारासँग पनि सम्बन्धित रहेको छ ।
प्रतिक्रिया