काठमाडौं- नेपाली चिया निर्यातमा भारतीय पक्षबाट थपिएको प्रशासनिक जटिलताका कारण इलामका चिया उद्योगहरू संकटमा परेका छन्। निर्यात प्रक्रिया प्रभावित भएपछि उद्योगीहरूले असार १ गतेदेखि उद्योग बन्द गर्ने घोषणा गरेका छन्।
सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसन नेपालले आइतबार विज्ञप्ति जारी गर्दै चिया क्षेत्रमा उत्पन्न गम्भीर अवस्थाका कारण उद्योग सञ्चालन गर्न नसकिने निष्कर्षमा पुगेको जनाएको हो।
उद्योगीहरूका अनुसार भारतीय चिया बोर्डले हालै लागू गरेको नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर’ (एसओपी) ले नेपाली चिया निर्यातमा ठूलो अवरोध सिर्जना गरेको छ। गुणस्तर परीक्षणका नाममा लामो प्रक्रिया, परीक्षण नतिजामा हुने ढिलाइ तथा भण्डारणसम्बन्धी समस्याका कारण ठूलो परिमाणमा तयारी चिया बिक्रीविहीन बनेको उनीहरूको भनाइ छ।
एसोसिएसनका अध्यक्ष डिल्ली श्रेष्ठका अनुसार हाल करिब १२ लाख किलो तयारी चिया थन्किएको छ। त्यसमध्ये २ लाख किलोभन्दा बढी चिया भारतीय बजारमा पुगेपछि पनि गोदाममै रोकिएको छ भने नेपालस्थित उद्योगहरूमा झण्डै १० लाख किलो चिया मौज्दात रहेको छ।
उद्योगीहरूले भारतीय चिया बोर्डले परीक्षणका लागि लगिएका नमुनाको प्रतिवेदन महिनौंसम्म सार्वजनिक नगर्ने र गुणस्तरमा प्रश्न उठेमा चियालाई भारतीय गोदाममै नष्ट गर्नुपर्ने व्यवस्था लागू गरेको आरोप लगाएका छन्। यस्ता प्रावधानले निर्यात व्यवसाय थप अन्योलग्रस्त बनेको उनीहरूको दाबी छ।
निर्यात ठप्प भएसँगै उद्योगहरूको नगद प्रवाह प्रभावित भएको र चिया किसानलाई हरियो पत्तीको भुक्तानी दिन समेत कठिनाइ उत्पन्न भएको एसोसिएसनले जनाएको छ।
‘वर्तमान परिस्थितिमा उद्योग सञ्चालनलाई निरन्तरता दिन असम्भवजस्तै बनेको छ,’ अध्यक्ष श्रेष्ठले भने, ‘त्यसैले असार १ गतेदेखि सम्पूर्ण उद्योग बन्द गर्ने बाध्यात्मक निर्णय गर्नुपरेको हो।’
उद्योग बन्दको निर्णयबाट किसान, श्रमिक तथा व्यवसायीहरूमा पर्ने असरप्रति दुःख व्यक्त गर्दै एसोसिएसनले समस्याको दीर्घकालीन समाधानका लागि स्थानीय, प्रदेश र संघीय सरकारसँगै राजनीतिक दल तथा सरोकारवाला निकायहरूको ध्यानाकर्षण गराएको छ।
प्रतिक्रिया