अमेरिकासँग शान्ति सम्झौतामा हस्ताक्षरको ‘तयारी’ हुँदा इरानमा विरोध प्रदर्शन

आइतबार, ३१ जेठ २०८३, १२ : ०६

अमेरिका र इरानबीच युद्ध अन्त्यका लागि आइतवार सम्झौतामा हस्ताक्षर हुने तयारी भइरहेको भनिएका बेला इरानमा त्यसको विरोधमा प्रदर्शनहरू भएका छन्।

तर अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिका र इरानबीचको लडाइँ अन्त्यका लागि आइतवारनै सम्झौतामा हस्ताक्षर हुने बताएका छन्।

इरानले हस्ताक्षर गर्ने समयबारे आनाकानी गरेपछि ट्रम्पले समय तोकेका हुन्।

एउटा मुख्य मध्यस्थकर्ता पाकिस्तानले पनि २४ घण्टाभित्र सम्झौतालाई अन्तिम रूप दिने अपेक्षा गरिएको बताउँदै आफूहरूले ‘विद्युतीय हस्ताक्षरको तयारी’ गरिरहेको जनाएको छ।

ट्रम्पले टिप्पणी गर्नुअघि इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले समय सीमाको बारेमा सावधानी प्रकट गर्दै शनिवार भनेका थिए, ‘हामीले सम्झौता पत्रमा हस्ताक्षर गर्ने निश्चित मितिबारे पर्खनु पर्ने छ, यद्यपि यो भोलि (आइतवार) हुने छैन।’

सम्झौताको खबरसँगै इरानमा विरोध प्रदर्शन किन ?

बीबीसी पर्शियन सेवाका अनुसार इरानमा सम्झौताका केही विरोधीहरूले यस विरुद्ध प्रदर्शन गर्नुका साथै विदेशमन्त्री अब्बास अराग्ची र संसद्का सभामुख मोहम्मद बगर गालिबाफविरुद्ध नाराबाजी गरेका छन्।

उक्त प्रदर्शन तेहरानको इब्न सिना स्क्वायरमा आयोजना गरिएको थियो र त्यसमा सहभागी प्रदर्शनकारीहरू इरानको कट्टरपन्थी र अतिवादी सङ्गठन ‘पर्सिस्टेन्स फ्रन्ट’ निकट रहेको बताइएको छ।

विदेशमन्त्री अब्बास अराग्चीले अमेरिकासँग सम्भावित सम्झौताबारे दिएको अभिव्यक्तिको विरोधमा शनिवार साँझ पनि दर्जनौँको सङ्ख्यामा मानिसहरू विदेश मन्त्रालयको भवन अगाडि भेला भएका थिए।

फार्स न्यूज एजेन्सीले सार्वजनिक गरेको एउटा भिडियोमा प्रदर्शनकारीहरू अराग्चीको विरोधमा नाराबाजी गरेको देखिन्छन्।

प्रस्तावित सम्झौताको विरोध गर्नेहरू त्यो सम्झौता इरानको हितमा नभएको र त्यसले स्ट्रेट अफ होर्मुजमा इरानको प्रभावलाई कमजोर तुल्याउने ठान्छन्।

बीबीसी पर्शियनका अनुसार अराग्चीले एउटा टेलिभिजन अन्तर्वार्तामा उक्त सम्झौतामा इरानी बन्दरगाहमा अमेरिकी नौसेनाको नाकाबन्दी हटाउने पनि सहमति भएको बताएका छन्।

उनले स्ट्रेट अफ होर्मुजलाई इरानको प्रमुख ‘निरोधक क्षमता’ मध्ये एउटा भएको बताएका थिए।

ट्रम्पको चेतावनी :अन्तिम विकल्प छ

ट्रम्पले अहिले भइरहेको सम्झौताको तयारी अघि नबढेमा कडा कदम चाल्ने चेतावनी पनि दिएका छन्।

चीजहरूले ‘छिटो, सजिलै र सहज रूपमा काम गरेनन’ भने वाशिङ्टनसँग ‘अन्तिम विकल्प रहने छ, आशा छ कि त्यसको प्रयोग फेरि कहिल्यै गरिने छैन।’

यसअघि शनिवार पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफले ‘हामीहरू शान्ति सम्झौताको नजिक पुगेका छौँ, जहाँ यसअघि कहिल्यै पुगेका थिएनौँ’ भनेका छन्।

उनले एक्समा लेखेका छन्, ‘आगामी २४ घण्टाभित्र सम्झौतालाई अन्तिम रूप दिइने अपेक्षा गरिएको छ, त्यस लगत्तै पाकिस्तानले शान्ति सम्झौतामा विद्युतीय हस्ताक्षरको निम्ति तयारी गरिरहेको छ, त्यसपछि अर्को हप्ता प्राविधिक तहको वार्ता हुने छ।’

इरानका विदेशमन्त्री सइद अब्बास अराग्चीले अमेरिकासँग सम्झौताको नजिक पुगेको शुक्रवार बताएका थिए ।

इरानले राखेको युरेनियमको भण्डारबारे पनि उनले उल्लेख गरेका छन्।

‘उपयुक्त समयमा जब सबै कुरा शान्त हुन्छ, हामी भित्र जाने छौँ र परमाणु धुलो प्राप्त गर्ने छौँ,’ ट्रम्पले पछि त्यो नष्ट गरिने बताए।

पश्चिमा देशहरूले इरानमाथि परमाणु हतियार बनाउन खोजेको आरोप दशकौँदेखि लगाउँदै आएका छन्।

उसले बिजुली उत्पादन र अनुसन्धान उद्देश्यका साथ शान्तिपूर्ण उद्देश्यका लागि आफ्नो कार्यक्रम भएको बताउँदै आरोपको खण्डन गरेको छ।

अमेरिका र इजरेलले २८ फेब्रुअरीमा इरानमा आक्रमण गरेपछि युद्ध सुरु भएको हो। त्यसको जबाफमा इरानले खाडीमा रहेका अमेरिकाका सहयोगी राष्ट्रहरू र इजरेलमा गरेको थियो, विश्वको निम्ति तेल र तरलीकृत प्राकृतिक ग्यासको एउटा मुख्य ढुवानी जलमार्ग स्ट्रेट अफ होर्मुज बन्द गरिदियो।

एप्रिलमा युद्धविराम सहमति भए पनि अमेरिका र इरानबीच बेलाबेलामा गोली हानाहान भएको छ, त्यस क्रममा यसै हप्ता दुई चरणको आक्रमण(प्रत्याक्रमण पनि भएको छ।

युद्धविराम विस्तारका साथै इरानको परमाणु कार्यक्रम लगायत प्रमुख मुद्दाहरूबारे कुराकानी सुरु गर्ने वार्तामा इजरेल संलग्न छैन।

बीबीसी न्यूज नेपाली

आइतबार, ३१ जेठ २०८३, १२ : ०६

प्रतिक्रिया