काठमाडौं- सातवटै प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष २०८३/८४ का लागि वार्षिक बजेट सार्वजनिक गर्दै छन्। संवैधानिक व्यवस्था अनुसार असार १ गतेभित्र बजेट ल्याउनुपर्ने प्रावधानअनुसार प्रदेश सरकारहरू बजेट प्रस्तुतिको अन्तिम तयारीमा जुटेका हुन्।
सम्बन्धित प्रदेश सभाको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्रीहरूले आगामी वर्षको आय–व्यय विवरण प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। यसअघि सबै प्रदेशले आफ्नो नीति तथा कार्यक्रम प्रदेश सभाबाट पारित गरिसकेकाले बजेट प्रस्तुतिका लागि आवश्यक प्रक्रिया पूरा भइसकेको छ।
यस वर्षको बजेटमा प्रदेशहरूले पूर्वाधार विकास, रोजगारी सिर्जना, कृषि उत्पादन वृद्धि, सामाजिक क्षेत्रको सुदृढीकरण तथा राजस्व परिचालनलाई प्राथमिकतामा राख्ने अपेक्षा गरिएको छ। संघीय अनुदानमा निर्भरता घटाउँदै आन्तरिक आम्दानी बढाउने रणनीति पनि बजेटका मुख्य एजेन्डामध्ये पर्ने अनुमान गरिएको छ।
प्रदेश सभाहरूले सार्वजनिक गरेको कार्यतालिका अनुसार सबैभन्दा पहिले मधेश प्रदेशले दिउँसो १ बजे बजेट प्रस्तुत गर्नेछ। कर्णाली प्रदेशले दिउँसो ३ बजे बजेट सार्वजनिक गर्ने तयारी गरेको छ भने कोशी, बागमती र गण्डकी प्रदेशले दिउँसो ४ बजे बजेट पेश गर्नेछन्।
त्यसैगरी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशले साँझ ५ बजे प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने कार्यक्रम तय गरेका छन्।
संघीय सरकारको बजेट सार्वजनिक भएको दुई सातापछि आउन लागेको प्रदेश बजेटले स्थानीय आवश्यकता सम्बोधन, क्षेत्रगत विकास प्राथमिकता र प्रदेश सरकारहरूको वित्तीय व्यवस्थापन क्षमताको दिशा स्पष्ट पार्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया