काठमाडौं- कैलालीको गोदावरी नगरपालिका–४ स्थित गाईमारे डाँडामा एक श्रमिक महिलामाथि भएको भनिएको ज्यादतीप्रति प्रगतिशील लोकतान्त्रिक पार्टीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पार्टीले घटनामा संलग्न व्यक्तिहरूमाथि कडा कानुनी कारबाही गर्न तथा पीडितलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेको छ ।
पार्टीकी केन्द्रीय प्रवक्ता लक्ष्मी गुरुङद्वारा जारी प्रेस वक्तव्यअनुसार बासापानीकी ४४ वर्षीया धनादेवी धामीले भीमदत्त राजमार्गअन्तर्गत गाईमारे डाँडा क्षेत्रमा टेम्पोमार्फत सामान बिक्री गरी परिवारको जीविकोपार्जन गर्दै आएकी थिइन् ।
वक्तव्यमा शनिबार वन कार्यालयका कर्मचारीहरू उक्त क्षेत्रमा पुगेपछि धामीले अब त्यहाँ व्यापार नगर्ने र आफ्नो टेम्पो घर लैजाने जानकारी गराउँदा पनि उनको कुरा नसुनिएको उल्लेख गरिएको छ । साथै, टेम्पोलाई भिरबाट खसाल्ने प्रयास भएपछि उनले पटक–पटक बिन्ती र हारगुहार गरे पनि अन्ततः टेम्पो भिरबाट खसालिएको दाबी गरिएको छ ।
घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको उल्लेख गर्दै पार्टीले यस घटनाले श्रमिक र उत्पीडित नागरिकहरूको अधिकार तथा सम्मानमाथि गम्भीर प्रश्न उठाएको जनाएको छ ।
“श्रम गरेर जीविकोपार्जन गर्ने नागरिकले पनि सम्मानपूर्वक बाँच्न पाउनुपर्छ । यस्ता घटनाले राज्यको जिम्मेवारी र संवेदनशीलतामाथि प्रश्न खडा गरेको छ,” वक्तव्यमा भनिएको छ ।
पार्टीले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न तथा पीडित धनादेवी धामीलाई क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेको छ । साथै, यस्ता घटना दोहोरिन नदिन आवश्यक कदम चाल्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।
प्रतिक्रिया