काठमाडौं- आगामी शुक्रवार स्विटजरल्याण्डमा इरान र अमेरिकाबीचको शान्ति सम्झौतामा हस्ताक्ष हुने भएको छ । यस सहमतिको समाचार आउने बित्तिकै विश्व बजारमा ठूलो राहतको महशुुस गरिएको छ । महिनौँदेखि मध्यपूर्वलाई तनावग्रस्त बनाएको यस द्वन्द्वको अन्त्य हुने संकेत संकेत देखिएसँगै विश्व ऊर्जा बजार र अन्तर्राष्ट्रिय वित्तीय बजारमा सकारात्मक प्रतिक्रिया देखिएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीच शान्ति सम्झौता भएको घोषणा गरेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उल्लेख्य घटेको छ भने एसियाली शेयर बजारमा उत्साहजनक वृद्धि देखिएको छ।
“इरानसँगको सम्झौता अब पूर्ण रूपमा सम्पन्न भएको छ। होर्मुज जलडमरूमध्य पुनः खुल्नेछ, जहाजहरू स्वतन्त्र रूपमा सञ्चालन हुनेछन् र विश्व ऊर्जा आपूर्ति पुनः सामान्य अवस्थामा फर्किनेछ,” ट्रम्पले आफ्नो पोस्टमा उल्लेख गरेका छन्।
इरानका उपविदेशमन्त्री काजेम घरिबाबादीले पनि राज्य सञ्चारमाध्यममार्फत सम्झौताप्रति सहमति भएको पुष्टि गरेका छन्। उनका अनुसार दुई देशबीचको सैन्य तनाव अन्त्य गर्ने र क्षेत्रीय स्थायित्व कायम गर्ने उद्देश्यसहित सम्झौताको अन्तिम रूप दिइएको हो।
सम्झौताको घोषणासँगै अन्तर्राष्ट्रिय तेल बजारमा तत्काल प्रभाव देखिएको छ। विश्व बजारमा कच्चा तेलको मापदण्ड मानिने ब्रेन्ट क्रुडको मूल्य ४ प्रतिशतले घटेर प्रतिब्यारेल ८३.८१ अमेरिकी डलरमा झरेको छ। अमेरिकी बजारमा कारोबार हुने डब्लुटिआई कच्चा तेलको मूल्य पनि ४.७ प्रतिशतले घटेर प्रतिब्यारेल ८०.८९ डलरमा पुगेको छ।
फेब्रुअरी अन्त्यतिर अमेरिका र इजरायलले इरानविरुद्ध सैन्य कारबाही सुरु गरेपछि होर्मुज जलडमरूमध्यमा जहाज आवतजावत प्रभावित बनेको थियो। विश्वको करिब २० प्रतिशत तेल तथा तरलीकृत प्राकृतिक ग्यास यही समुद्री मार्ग हुँदै ओसारपसार हुने भएकाले तनावले ऊर्जा बजारमा ठूलो असर पारेको थियो।
द्वन्द्व सुरु हुनुअघि करिब ७० डलर प्रतिव्यारेल रहेको ब्रेन्ट क्रुडको मूल्य युद्ध चर्किँदै जाँदा १२० डलरसम्म पुगेको थियो। अहिले सम्झौताको संकेतसँगै बजार पुनः स्थिरतातर्फ फर्कन थालेको विश्लेषकहरूको भनाइ छ।
सहमतिको समाचारपछि ऊर्जा आपूर्ति सहज हुने अपेक्षाले एसियाली पूँजी बजारमा पनि सकारात्मक प्रभाव परेको छ। सोमबार प्रारम्भिक कारोबारमा जापानको निक्की सूचकांक ४.३ प्रतिशतले बढेको छ भने दक्षिण कोरियाको केओएसपीआई सूचकांक ५ प्रतिशतभन्दा बढीले उकालो लागेको छ।
ऊर्जा आयातमा निर्भर एसियाली अर्थतन्त्रहरू युद्धका कारण बढेको तेल मूल्यबाट सबैभन्दा बढी प्रभावित भएका थिए। अब ऊर्जा लागत घट्ने सम्भावनाले लगानीकर्ताको विश्वास बढाएको विश्लेषण गरिएको छ।
प्रतिक्रिया