काठमाडौं- एएमएल नेपालले नेपालको सबैभन्दा ठूलो गैर–बैंकिङ वित्तीय संस्था (Non–Banking Financial Institution) तथा दीर्घकालीन कोष परिचालन गर्ने प्रमुख संस्था कर्मचारी सञ्चय कोष मा सम्पत्ति शुद्धीकरण निवारण (Anti–Money Laundering – AML), आतङ्ककारी कार्यमा वित्तीय लगानी नियन्त्रण (Counter Financing of Terrorism – CFT) तथा सम्बन्धित अनुपालन व्यवस्थासम्बन्धी ज्ञान अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको छ ।
कर्मचारी सञ्चय कोषले ठूलो मात्रामा दीर्घकालीन बचत तथा कोष परिचालन गरी नेपालको वित्तीय प्रणालीमा महत्वपुर्ण भुमिका निर्वाह गर्दै आएको सन्दर्भमा, संस्थागत सुशासन, जोखिम व्यवस्थापन तथा प्रभावकारी एएमएल÷सीएफटी अनुपालनको महत्वलाई केन्द्रमा राखी उक्त कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा एएमएल नेपालका विज्ञहरू श्रीधर अधिकारी, अधिवक्ता सेलिना अधिकारी तथा सीए लेखनाथ पोखरेल ले विभिन्न विषयमा विशेषज्ञ प्रस्तुतीकरण तथा अन्तरक्रियात्मक सत्र सञ्चालन गरेका थिए ।
सत्रमा सम्पत्ति शुद्धीकरण तथा आतकंकारी कार्यमा वित्तीय लगानी नियन्त्रणसम्बन्धी अन्तर्राष्ट्रिय अभ्यास, नेपालको कानुनी तथा नियामकीय व्यवस्था, गैर–बैंकिङ वित्तीय संस्थाका लागि लागु हुने एएमएल/सीएफटी निर्देशनहरू, जोखिममा आधारित अनुपालन प्रणाली, ग्राहक पहिचान् प्रक्रिया, ग्राहकको स्रोतको पहिचान तथा प्रमाणीकरण, निरन्तर अनुगमन, शंकास्पद कारोबार पहिचान तथा प्रतिवेदन प्रणालीलगायतका विषयमा विस्तृत छलफल गरिएको थियो । कार्यक्रममा विशेषगरी कर्मचारी सञ्चय कोषको स्रोत पक्ष तथा लगानी पक्ष बाट एएमएल जोखिमको पहिचान, व्यवस्थापन तथा अनुपालनका व्यावहारिक पक्षहरूबारे गहन छलफल भएको थियो ।
कोषमा आबद्ध ग्राहक तथा योगदानकर्ताको वित्तीय स्रोतको पारदर्शिता, लगानी निर्णय प्रक्रियामा जोखिम मुल्याङ्कन, लाभग्राही पहिचान, संस्थागत सुशासन तथा नियामकीय अपेक्षाहरूलाई समेत समेटेर प्रस्तुतीकरण गरिएको थियो ।
कार्यक्रममा सहभागी कर्मचारीहरूले एएमएल÷सीएफटी कार्यान्वयनका व्यावहारिक चुनौती, नियामकीय अपेक्षा तथा संस्थागत प्रणालीलाई थप प्रभावकारी बनाउने उपायहरूबारे सक्रिय सहभागिता जनाउँदै आफ्ना अनुभव, जिज्ञासा तथा सुझावहरू प्रस्तुत गरेका थिए ।
एएमएल नेपालले नेपालको वित्तीय प्रणालीलाई थप सुरक्षित, पारदर्शी तथा अन्तर्राष्ट्रिय मापदण्डअनुकुल बनाउन सरकारी निकाय, वित्तीय संस्था तथा अन्य सरोकारवाला संस्थाहरूसँग सहकार्य गर्दै एएमएल÷सीएफटी सम्बन्धी क्षमता अभिवृद्धि, प्रशिक्षण तथा ज्ञान आदान–प्रदान कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।
प्रतिक्रिया