सुनचाँदी व्यवसाय

एक सय ग्राम सुन बार आयातको व्यवस्था लागू, साना व्यवसायीलाई सहज हुने: गणेश प्रसाद लकान्द्री

मंगलबार, ०२ असार २०८३, ११ : १२

काठमाडौं- अबदेखि वाणिज्य बैंकहरूमार्फत १०० ग्राम बारको सुन पनि आयात हुने भएको छ । यसअघि नेपालमा बैंकहरूले मुख्य रूपमा १,००० ग्राम र ५०० ग्राम बारको सुन मात्र आयात गर्दै आएका थिए ।

नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका केन्द्रीय कोषाध्यक्ष गणेश प्रसाद लकान्द्रीका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको निरन्तर वृद्धिसँगै नेपाली बजारमा पनि सुनको मूल्य दिनप्रतिदिन बढिरहेको छ । यस्तो अवस्थामा साना तथा मध्यम व्यवसायीलाई सुन खरिद गर्न सहज बनाउने उद्देश्यले महासंघले पटक–पटक दिएको सुझावपछि १०० ग्राम बारको सुन आयात गर्ने व्यवस्था लागू गरिएको हो ।

लकान्द्रीका अनुसार अब वाणिज्य बैंकहरूमार्फत ५०० ग्रामका साथै १०० ग्राम बारको सुन पनि भित्र्याउन सकिनेछ । यस व्यवस्थाले कम पूँजी भएका व्यवसायीलाई समेत सुन खरिद तथा कारोबार गर्न सहज हुने विश्वास गरिएको छ ।

उनले भविष्यमा ५० ग्राम बारको सुन आयातको व्यवस्था गर्नसमेत महासंघले सम्बन्धित निकायसँग पहल गरिरहेको जानकारी दिए ।

हाल लागू गरिएको व्यवस्थाअनुसार व्यवसायीहरूले आफ्नो निर्धारित कोटा अनुसार १०० ग्राम वा सोभन्दा माथिका बारको सुन सिफारिस गर्न सक्नेछन् । महासंघले यो व्यवस्थाले सुन कारोबारलाई थप व्यवस्थित बनाउन तथा व्यवसायीहरूको पहुँच विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरेको जनाएको छ ।
 

मंगलबार, ०२ असार २०८३, ११ : १२

प्रतिक्रिया