इटालीमा तीन नेपाली फोटोग्राफरहरूको प्रदर्शनी

मंगलबार, ०२ असार २०८३, ११ : ५२

काठमाडौं- इटालीको लोनाटो डेल गार्दमा “नेपाल टुडेः इन द फरेस्ट, इन द भिलेजेज” शीर्षकको फोटोग्राफी प्रदर्शनी उद्घाटन गरिएको छ, जसमा इटालियन क्युरेटर फिलिपो माज्जाको छनोटमा तीन नेपाली फोटोग्राफरः किशोर शर्मा, उमा विष्ट, र सागर क्षेत्रीका कामहरू प्रदर्शनीमा राखिएको छ । प्रदर्शनी अगस्ट ३०, २०२६ सम्म खुला रहनेछ ।

प्रदर्शनीमा रहेको किशोर शर्माको फोटो सृंखला ‘लिभिङ इन द मिस्ट’ले घुमन्ते राउटे समुदाय र उनीहरूको जीवनशैलीको बारेमा छ वर्षको अवधिमा गरिएको फोटो दस्तावेजीकरण प्रस्तुत गरेको छ । 

उही शीर्षकको फोटो पुस्तकको रूपमा पनि प्रकाशित यो सृंखलाले ‘आधुनिक’ संसारमा समाहित नहुनका लागि राउटेहरूले गरिरहेको प्रतिरोधको दुर्लभ झलक प्रदान गर्नुका साथै वैकल्पिक र स्वायत्त जीवन शैलीको सम्भावना पनि प्रतिबिम्बित गर्दछ ।

उमा विष्टको फोटो सृंखला ‘वनका हाम्रा गीत’ले नेपालको अछाम जिल्लाका किशोरीहरूलाई पछ्याउँछ जो छाउपडी प्रथाले गर्दा महिनावारीको समयमा अपवित्र र अछुत बनाएर गोठमा बस्न बाध्य पारिन्छ ।

PHOTO2

२००५ मा गैरकानुनी र २०१८ मा दण्डनीय अपराध भनेर घोषणा गरिए तापनि, बहिष्कार र दैवीय दण्डको डरले यो परम्परा कायमै छ । त्यसैगरी, सागर क्षेत्रीको फोटो सृंखला ‘एक्लिप्स’ले नेपालको दक्षिणी सिमावर्ती क्षेत्रमा रहेको मधेशका जनताको राज्यसंगको जटिल सम्बन्ध र प्रायः विवादित बनाइने पहिचानको चर्चा गर्दछ । 

यो शृंखलाले सिमावर्ती क्षेत्र मधेश कसरी राजनीतिक गुनासाहरु परीक्षण हुने र उनको पुस्तामा भएको पहिचानको सबैभन्दा महत्त्वपूर्ण संघर्षहरू मध्ये एकको मुटुमा रहेको छ भन्ने कुराको गहिराइमा पुर्याउँछ ।

प्रदर्शनीको परिचयमा क्युरेटर फिलिपो माज्जाले हाल पश्चिमी समाजमा फोटोग्रापÞmीले आफ्नो बाटो बिराएको हो कि भन्ने प्रश्न गर्दै दक्षिणी गोलार्धमा भने कसरी अझै पनि फोटोग्राफरहरुले आफ्नो काम मार्फत सामाजिक मुद्दाहरुको उठान गरिरहेका छन् भनेर दुई बीचको तीव्र भिन्नताका बारेमा चर्चा गरेका छन् ।

साथै, नेपालको समकालीन फोटो कलाकारहरूको उदीयमान पुस्तामाथि थप प्रकाश पार्दै उनि भन्छनः “केवल फोटोग्राफीमा केन्द्रित हुँदै, नेपालले आफुलाई लैंगिक मुद्दा, स्मृति र पहिचान, उत्तर–उपनिवेशिक सम्पदा, राजनीति, समाज, धर्म र संस्कृति जस्ता विषयवस्तुहरूको अन्वेषण गर्ने युवा कलाकारहरूले भरिपुर्ण देशको रूपमा प्रस्तुत गरेको छ । 

ExhPHOTO-07

समकालीन कलाकारहरूको वर्तमान पुस्ता सम्भवतः नेपालमा अवस्थित पहिलो पुस्ता हो जसले सार्वजनिक र निजी सुविधाहरूको अभावको बाबजुद पनि आफ्नो काम मार्फत दृढ कलात्मक पृष्ठभुमि, सक्रिय ऊर्जा, शक्तिशाली सामग्री र निडर अभिव्यक्तिको स्वरूपहरू प्रस्तुत गरेका छन् ।”

प्रदर्शनीको क्याटलग प्रसिद्ध इटालियन प्रकाशन गृह सिल्भाना एडिटोरियलले प्रकाशित गरेको छ । यस परियोजनालाई इटालियन संस्कृति मन्त्रालयको स्ट्राटेजिया फोटोग्राफिया २०२५ कार्यक्रम अन्तर्गत सहयोग प्राप्त भएको छ ।

“नेपाल टुडेः इन द फरेस्ट, इन द भिलेजेज” जुन ११ देखि अगस्ट ३०, २०२६ सम्म इटालीको ब्रेसियाको लोनाटो डेल गार्दमा सार्वजनिक प्रदर्शनीमा रहने छ ।
 

मंगलबार, ०२ असार २०८३, ११ : ५२

प्रतिक्रिया