काठमाडौं- साताको कारोबारको दोस्रो दिन मंगलबार सेयर बजार सामान्य अंकले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६.३१ अंकले घटेर २७०५.४५ विन्दुमा झरेको हो।
आज कारोबारमा आएका १३ उपसमूहमध्ये दुई उपसमूहको सूचक बढ्दा बाँकी ११ उपसमूह भने राताम्मे भएका छन्। अधिकांश क्षेत्रको सेयर मूल्यमा दबाब देखिएपछि समग्र बजार परिसूचक पनि घटेको हो।
कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत् कम्पनी अग्रस्थानमा रह्यो। कम्पनीको ३१ करोड ९९ लाख ४५ हजार रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको नेप्सेले जनाएको छ।
मूल्य वृद्धितर्फ सोपान फर्मास्युटिकल्स र एपोलो हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक लाभ कमाएका छन्। यी दुवै कम्पनीको सेयर मूल्य क्रमशः १५ प्रतिशत र १४.९८ प्रतिशतले बढ्दै सकारात्मक सर्किट लागेको छ।
यता, सयपत्री हाइड्रोपावर का लगानीकर्ताले सबैभन्दा बढी घाटा बेहोरेका छन्। कम्पनीको सेयर मूल्य ४.९० प्रतिशतले घटेको छ।
मंगलबार कुल ३५५ कम्पनीको १ करोड ७ लाख ८ हजार ५९६ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ४ करोड ७८ लाख ५८ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ।
प्रतिक्रिया