दाङ- तुलसीपुर उपमहानगरपालिका–७ पर्सेनीमा किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा विस्तारका लागि एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
तुलसीपुर उपमहानगरपालिकाको जनस्वास्थ्य प्रवद्र्धन शाखाको आयोजनामा मंगलबार कार्यक्रम सम्पन्न भएको हो। स्वास्थ्य चौकी व्यवस्थापन समितिका सदस्य बुद्धिराम भुसालको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाकी सीएनएमआई निरीक्षक राधिका गौतमले सहजीकरण गर्नुभएको थियो।
कार्यक्रममा जनस्वास्थ्य प्रवद्र्धन शाखाका स्वास्थ्य अधिकृत विमल केसीले किशोरकिशोरी मैत्री स्वास्थ्य संस्थाका विशेषता, सेवाप्रदायक स्वास्थ्यकर्मीमा हुनुपर्ने गुण, सूचना–शिक्षा–सञ्चार सामग्री तथा स्वास्थ्य सेवा सम्बन्धी पोस्टरका विषयमा जानकारी दिएका थिए।
किशोरकिशोरीमा देखिने यौन तथा प्रजनन स्वास्थ्य समस्या न्यूनीकरण गर्ने उद्देश्यले सरकारले सन् २००० देखि सञ्चालन गरेको किशोरकिशोरी मैत्री यौन तथा प्रजनन स्वास्थ्य सेवा दाङमा प्रभावकारी बन्दै गएको बताइएको छ। कार्यक्रममा बोल्दै राधिका गौतमले १० देखि १९ वर्ष उमेर समूह तीव्र शारीरिक, मानसिक तथा भावनात्मक परिवर्तनको अवस्था भएकाले यस उमेरका किशोरकिशोरीलाई आवश्यक परामर्श, स्वास्थ्य शिक्षा तथा उपचार सेवा उपलब्ध गराइने बताउनुभयो। उहाँले सेवाग्राहीको गोपनीयतालाई पूर्ण रूपमा सुनिश्चित गरिने पनि जानकारी दिए।
वडा नं. ७ का वडा अध्यक्ष रामबहादुर जिसीले स्वस्थ र सक्षम नागरिक निर्माणका लागि किशोरकिशोरीको स्वास्थ्यमा विशेष ध्यान दिन आवश्यक रहेको बताए। स्वास्थ्य संस्था र समुदायको आवश्यकताअनुसार स्थानीय सरकारले आवश्यक सहयोग गरिरहेको उल्लेख गर्दै उहाँले यस सेवाले किशोरकिशोरीका स्वास्थ्य समस्या न्यूनीकरण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।
तुलसीपुर उपमहानगरपालिकाका सूचना अधिकारी यज्ञ केसीले किशोरकिशोरीको स्वास्थ्य सेवामा पहुँच बढाउने उद्देश्यले यस्ता कार्यक्रम सञ्चालन गरिएको बताए। उनका अनुसार किशोरकिशोरी मैत्री यौन तथा प्रजनन स्वास्थ्य सेवाले बालविवाह न्यूनीकरण गर्न तथा प्रजनन स्वास्थ्यसम्बन्धी समस्यामा सुधार ल्याउन सहयोग पुग्नेछ। तालिमप्राप्त स्वास्थ्यकर्मीमार्फत सेवा प्रवाह गरिने भएकाले किशोरकिशोरी जोखिमपूर्ण अवस्थाबाट जोगिन सक्ने उनको भनाइ थियो।
कार्यक्रममा सहभागी किशोरकिशोरीहरूले गाउँकै स्वास्थ्य संस्थामा यस्तो सेवा उपलब्ध भएपछि किशोरावस्था र प्रजनन स्वास्थ्यसम्बन्धी विषयमा खुलेर जानकारी लिन र आवश्यक परामर्श प्राप्त गर्न सहज भएको बताएका थिए।
प्रतिक्रिया