माउन्ट एभरेष्ट पावरको आईपीओ आजदेखि खुल्यो, सर्वसाधारणले १४.२७ लाख कित्ताका लागि आवेदन दिन सक्ने

बुधबार, ०३ असार २०८३, ११ : १५

काठमाडौं- माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडको प्राथमिक शेयर (आईपीओ)मा आजदेखि सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्ने भएका छन्।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको शेयर बाँडफाँट सम्पन्न गरेपछि दोस्रो चरणअन्तर्गत सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको हो।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पुँजी ८६ करोड रुपैयाँको ३० प्रतिशत बराबर २५ करोड ८० लाख रुपैयाँ मूल्यको २५ लाख ८० हजार कित्ता साधारण शेयर निष्कासन गर्न अनुमति पाएको थियो।

यसअघि कम्पनीले ८ लाख ६० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई तथा १ लाख ७२ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्कासन तथा बाँडफाँट गरिसकेको छ।

त्यस्तै, ३४ हजार ४०० कित्ता शेयर कर्मचारीका लागि र ८६ हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ।

यी सबै हिस्सा बाँडफाँटपछि बाँकी रहेको १४ करोड २७ लाख ६० हजार रुपैयाँ बराबरको १४ लाख २७ हजार ६०० कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्कासन गरिएको हो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा शेयर बिक्री गरिरहेको छ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। आईपीओमा आवेदन दिने अवधि छिटोमा असार ८ गतेसम्म र पर्याप्त आवेदन नपरे ढिलोमा असार १७ गतेसम्म खुला रहने कम्पनीले जनाएको छ।

शेयर बजारमा नयाँ अवसरको खोजीमा रहेका लगानीकर्ताका लागि माउन्ट एभरेष्ट पावरको आईपीओ अर्को आकर्षक विकल्पका रूपमा आएको छ।

बुधबार, ०३ असार २०८३, ११ : १५

प्रतिक्रिया