अध्ययन बिदा प्रकरण:

अध्ययन बिदा लिएर नफर्किने ३९८ प्राध्यापकलाई त्रिविको अल्टिमेटम, तलब–भत्ता नफर्काए कानुनी कारबाहीको चेतावनी

बुधबार, ०३ असार २०८३, ११ : ३७

काठमाडौं- त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदामा गएर नफर्किएका प्राध्यापकहरूलाई १५ दिनभित्र तलब, भत्ता तथा अन्य सुविधा रकम फिर्ता गर्न अन्तिम सूचना जारी गरेको छ।

अध्ययन बिदा सुव्यवस्थापन कार्यान्वयन समितिका संयोजक डा. जीवन काफ्लेका अनुसार बिदाको दुरुपयोग गरेका प्राध्यापकहरूलाई रकम फिर्ता गर्न अन्तिम पटक १५ दिनको समय दिइएको हो।

समितिले गरेको छानबिनमा ३९८ जना प्राध्यापकले अध्ययन बिदाको दुरुपयोग गरेको पाइएको छ। यसबाट विश्वविद्यालयलाई २ अर्ब रुपैयाँभन्दा बढी आर्थिक क्षति पुगेको प्रारम्भिक निष्कर्ष छ।

समितिका अनुसार हालसम्म ५० जनाले ११ करोड ८४ लाख रुपैयाँ फिर्ता गरिसकेका छन्। रकम फिर्ता गर्नेमा डा. आनन्द चन्द र जगत तिमिल्सिना समेत रहेका छन्। डा. चन्दले ४४ लाख ५६ हजार रुपैयाँ तथा तिमिल्सिनाले ३३ लाख ५ हजार रुपैयाँ फिर्ता गरेका छन्।

त्रिविको नियमअनुसार अध्ययन बिदा लिएपछि सम्बन्धित प्राध्यापकले तोकिएको अवधिसम्म विश्वविद्यालयमा सेवा गर्नुपर्ने व्यवस्था छ। सेवा अवधि पूरा नगरी नफर्किएमा बिदाका क्रममा लिएको तलब तथा भत्ता १० प्रतिशत ब्याजसहित फिर्ता गर्नुपर्ने कबुलियतनामा गरिएको हुन्छ। तर, धेरै प्राध्यापकले राजीनामा दिएर रकम फिर्ता नगरेको पाइएको समितिले जनाएको छ।

संकायगत विवरणअनुसार मानविकी सङ्कायका ११४, विज्ञान सङ्कायका १०६ र इन्जिनियरिङ सङ्कायका ९९ जना प्राध्यापक अध्ययन बिदा दुरुपयोगको सूचीमा रहेका छन्।

समितिले असार मसान्तभित्र आफ्नो प्रतिवेदन विश्वविद्यालयलाई बुझाउने तयारी गरेको छ। सरकारको निर्देशनअनुसार त्यसपछि आवश्यक कानुनी प्रक्रिया अघि बढाइने जनाइएको छ।

बुधबार, ०३ असार २०८३, ११ : ३७

प्रतिक्रिया