होटल तथा पर्यटन व्यवसाय

दुई दिने सार्वजनिक बिदाले होटल व्यवसायी उत्साहित, सरकारी कार्यक्रम होटलमा नगर्ने नीति सच्याउन माग

बुधबार, ०३ असार २०८३, १२ : ५२

काठमाडौं– हालै सरकारले सार्वजनिक बिदा दुई दिन कायम गरेपछि होटल तथा पर्यटन व्यवसायमा सकारात्मक प्रभाव देखिन थालेको छ । व्यस्त जीवनशैलीका कारण मानिसहरूलाई परिवारसँग समय बिताउन र घुमफिर गर्न पर्याप्त अवसर मिलिरहेको थिएन । दुई दिने बिदाको व्यवस्थाले आन्तरिक पर्यटनलाई प्रोत्साहित गर्दै होटल व्यवसाय पनि चलायमान भएको छ ।

दुई दिनको सार्वजनिक बिदाले होटल व्यवसायमा ग्राहकको चाप बढेसँगै आम्दानीमा पनि सुधार आएको छ । विशेषगरी पोखरा, चितवन, लुम्बिनी, नगरकोट, इलाम लगायतका पर्यटकीय क्षेत्रका होटलमा बुकिङ बढेको देखिन्छ । यसले होटल व्यवसायीलाई सेवा विस्तार गर्न र गुणस्तर सुधार गर्न प्रेरित गरेको छ । साथै, यसले कोरोनाको समयमा रोजगारी गुमाएकाहरूले पनि पुनः अवसर पाएका छन् ।

सरकारले दिएको दुई दिने बिदाले व्यवसायमा सकारात्मक प्रभाव पारेको होटल ह्याप्पी होमका संन्चालक एवम् होटल व्यवसायी संघ चितवनका महासचिव कृष्ण कुमार महत्तोले बताएका छन् । उनले आजको अर्थसँगको कुराकानीमा भने, ‘पहिले शनिबारको दिनमा मात्रै सीमित ग्राहक आउने गर्थे, तर अहिले आन्तरिक पर्यटकहरूको संख्या बढेको छ । होटलको कोठा बुकिङ, खानपान सेवा सँगसँगै प्याकेज सुविधाको माग बढेकाले आम्दानीमा पनि वृद्धि भएको छ ।’ उनले दुई दिने बिदापछि पर्यटन क्षेत्रलाई चलायमान बनेको र   रोजगारीका अवसरहरू पनि बढाएको बताए । 

महासचिव महत्तोले भने, ‘दुई दिने बिदाले स्थानीय अर्थतन्त्रलाई समेत टेवा पुर्याएको छ । पर्यटकहरूको आगमन बढेपछि यातायात, हस्तकला, कृषि उत्पादन तथा अन्य साना व्यवसायहरू पनि लाभान्वित भएका छन् । यसबाट स्थानीय समुदायको आयआर्जनमा वृद्धि भएको छ र आर्थिक गतिविधि चलायमान बनेको छ ।’

उनका  अनुसार, चितवनका पर्यटकीय स्थलहरूमा संन्चालनमा रहेका होटलहरू दुई दिने बिदाले भरीभराउ भएका छन् ।  पछिल्लो सरकारको निर्णयले सुस्ताएको होटल व्यवसाय लयमा फर्किन थालेपछि व्यवसायीहरू उत्साहित भएको महासचिव महत्तोले जानकारी दिए । 

सरकारले दिएको दुई दिने सार्वजनिक बिदाले होटल व्यवसायमा सकारात्मक सुधार भएको भक्तपुरका अर्का होटल व्यवसायी पनि बताउँछन् । भक्तपुरको भिलेज हाइल्यान्ड रिसोर्ट रानीकोटका सञ्चालक रामसुन्दर बकेले सरकारको दुई दिने बिदा दिने निर्णयले ग्राहकको आगमन बढेको बताए । 

‘सरकारले ल्याएको नीति तथा कार्यक्रममा हिलस्टेसन प्रमोसन गर्ने भनिएको छ, यो स्वागतयोग्य छ ’ सञ्चालक बकेले आजको अर्थसँगको कुराकानीमा भने,‘ग्रामीण क्षेत्रको पूर्वधार विकास गर्नुपर्ने, शान्ति सुरक्षा, विद्युत र संचार क्षेत्रको पहुँच पुर्याए होटल व्यवसाय सञ्चालन गर्न सहज हुन्छ ।’  

सरकारले होटल व्यवसायलाई उद्योगको मान्यता दिलाउँदै सो सरह सेवा सुविधा दिएर होटल व्यवसायी मैत्री नीति लागू गर्नुपर्नेमा उनले जोड दिए । त्यसो गरेमा ग्रामीण क्षेत्रमा उत्पादन हुने कृषि जन्य उत्पादित खाद्य बस्तुको ७५ प्रतिशत होटल व्यवसायले नै खपत गर्ने उनको दाबी छ ।  

यद्यपि, बिदाको समयमा अत्यधिक भीडका कारण कतिपय स्थानमा व्यवस्थापनको समस्या देखिन सक्ने होटल सञ्चालक बके बताउँछन् । तर, उचित योजना, सेवा व्यवस्थापन तथा पूर्वाधार विकासमार्फत यस्ता चुनौतीहरू समाधान गर्न सकिने उनको भनाइ छ । 

‘दुई दिनको लगातार बिदा भएपछि मानिसहरू छोटो समयका लागि विभिन्न पर्यटकीय स्थलमा जान थालेका छन् । यसले होटल, रिसोर्ट, रेस्टुरेन्ट तथा अन्य पर्यटनसँग सम्बन्धित व्यवसायहरूको व्यापार बढाएको छ । पहिले एक दिनको बिदामा टाढाका गन्तव्यमा जान कठिन हुने भएकाले धेरै मानिस घरमै बस्ने गर्थे । अहिले भने दुई दिनको समय पर्याप्त भएकाले आन्तरिक पर्यटकहरूको संख्या उल्लेखनीय रूपमा वृद्धि भएको छ ।’ भिलेज हाइल्यान्ड रिसोर्टका सञ्चालक बकेले भने ।

त्यस्तै, कतिपय होटल व्यवसायीले भने सरकारले सरकारी सभा, गोष्ठी तथा वैठक बाहिरका होटलमा नगर्ने नीतिले होटल व्यवसाय क्षेत्र मारमा परेको बताउँछन् । सरकारले सार्वजनिक कार्यक्रम बाहिरका होटलमा नगर्न आग्रह गरे पछि कर्मचारी पाल्न समेत गाह्रो भएको धुलिखेल लज एण्ड रिसोर्टका संचालक प्रेमकन्थ श्रेष्ठको गुनासो छ । 

श्रेष्ठले आजको अर्थसँगको कुराकानीमा भने, ‘बजारमा मन्दी भएको अवस्थामा तातोपानी भन्सार नाका नखुल्दा, सवारी साधनको आवत जावत कम भएको छ । लामो समयदेखी बाटो बन्द छ, यसको सिधा असर पर्यटनमा पर्छ । अन्तर्राष्ट्रिय पर्यटक तथा आन्तरिक पर्यटकको आवागमनमा निकै कठिनाई भएको छ ।’

भौगोलिक बनावटले पनि धुलिखेल पर्यटकीय स्थल भएकोले यहाँ आउने पर्यटकलाई प्रोसाहन गर्दै थलिएको होटल व्यवसायलाई संचालनमा ल्याउन सरकारले निति परिवर्तन गर्नु पर्नेमा श्रेष्ठले जोड दिए । रोजगारीको ठूलो हिस्सा ओगटेको होटल व्यवसाय अहिले सरकारको निर्णयले काम गर्ने कर्मचारीहरूलाई रोजगारी दिन कठिन भएकाले सरकारको सरकारी कार्यक्रम बाहिर नगर्ने निर्णय फिर्ता लिनुपर्ने उनको माग छ ।  

सरकारले दिएको दुई दिने बिदाको व्यवस्थाले होटल व्यवसायमा सकारात्मक परिवर्तन ल्याएको छ । यसले आन्तरिक पर्यटन प्रवद्र्धन, रोजगारी सिर्जना, स्थानीय अर्थतन्त्रको विकास तथा होटल व्यवसायको आम्दानी वृद्धिमा महत्वपूर्ण योगदान पुर्याएको छ । त्यसैले होटल व्यवसाय मैत्री नीतिलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्दै सरकारले पर्यटन तथा होटल क्षेत्रको दिगो विकासमा जोड दिन आवश्यक छ ।

बुधबार, ०३ असार २०८३, १२ : ५२

प्रतिक्रिया