राहदानी छपाइ प्रकरणमा थप दुई पक्राउ, पक्राउ पर्ने संख्या चार पुग्यो

बुधबार, ०३ असार २०८३, १४ : १३

काठमाडौं- राहदानी छपाइमा अनियमितता भएको आरोपमा भइरहेको अनुसन्धानका क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थप दुई जनालाई पक्राउ गरेको छ।

अख्तियार स्रोतका अनुसार पक्राउ पर्नेहरूमा जर्मन कम्पनी मुहलबाउरका नेपाली प्रतिनिधि मनिन्द्रराज मल्ल र राहदानी विभागका तत्कालीन लेखा अधिकृत तुलसीप्रसाद आचार्य रहेका छन्।उनीहरूविरुद्ध अनुसन्धानका लागि तीन दिनको म्याद थप गरिएको जनाइएको छ।

यसअघि अख्तियारले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल र निर्देशक सुनीलकुमार केसीलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो। उनीहरूविरुद्ध चार दिनको म्याद थप गरिएको छ। नयाँ पक्राउसँगै राहदानी छपाइसम्बन्धी अनियमितता प्रकरणमा पक्राउ पर्नेको संख्या चार पुगेको छ।

अख्तियारले राहदानी छपाइ तथा आपूर्ति प्रक्रियामा सम्भावित अनियमितता, आर्थिक चलखेल र निर्णय प्रक्रियासम्बन्धी विषयमा विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ। अनुसन्धान जारी रहेकाले यस प्रकरणमा थप व्यक्तिहरू पनि तानिन सक्ने अनुमान गरिएको छ।

बुधबार, ०३ असार २०८३, १४ : १३

प्रतिक्रिया