सुनचाँदी व्यवसाय

दक्ष कालीगढको अभावले सुनचाँदी व्यवसाय संकटमा: कोषाध्यक्ष लकान्द्री

विहीबार, ०४ असार २०८३, १३ : ३३

काठमाडौं- नेपालको सुनचाँदी व्यवसाय क्षेत्रमा पछिल्लो समय देखिएको प्रमुख समस्यामध्ये दक्ष कालीगढको अभाव पनि एक रहेको नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका केन्द्रीय कोषाध्यक्ष  गणेश प्रसाद लकान्द्रीले बताएका छन् । उनका अनुसार सुनचाँदी व्यवसाय केवल व्यापारमा सीमित नभई सीप, कला र दक्षतामा आधारित क्षेत्र भएकाले दक्ष जनशक्तिको अभावले समग्र उद्योग नै प्रभावित हुँदै गएको छ ।

कोषाध्यक्ष  लकान्द्रीका अनुसार, विगत केही वर्षयता ठूलो संख्यामा नेपाली कालीगढ वैदेशिक रोजगारीका लागि विदेशिने क्रम बढेको छ । स्वदेशमा अपेक्षित पारिश्रमिक, सामाजिक सुरक्षा तथा व्यवसायिक अवसरको अभावका कारण दक्ष जनशक्ति विदेश पलायन हुँदा सुनचाँदी उद्योगले गम्भीर समस्या भोगी रहनु परेको उनले बताए ।

“हाम्रो व्यवसायको मेरुदण्ड नै कालीगढ हुन् । उनीहरूको सीप र मेहनतबिना सुनचाँदीका गहना निर्माण सम्भव हुँदैन । तर पछिल्लो समय दक्ष कालीगढको संख्या निरन्तर घट्दै गएको छ, जसका कारण व्यवसायीले ग्राहकको माग अनुसार उत्पादन गर्न कठिनाइ भोग्न बाध्य छन्,” लकान्द्रीले भने ।

उनका अनुसार बजारमा नयाँ डिजाइनका गरगहना र आधुनिक प्रविधिमा आधारित उत्पादनको माग बढ्दो भएतापनि दक्ष जनशक्तिको अभावले ग्राहकको सन्तुष्टिलाई समेत पुरा गर्न कठिनाई छ ।  अनुभवी कालीगढ विदेशियपछि नयाँ पुस्तालाई आकर्षित गर्न नसकिएको अवस्था रहेको उनको भनाइ छ । “आजका युवाहरू सुनचाँदी क्षेत्रलाई पेशाका रूपमा रोज्न कम इच्छुक देखिन्छन् । सीप सिकाउने संरचना कमजोर हुनु र पेशाको सुनिश्चित भविष्यबारे स्पष्टता नहुनु पनि यसको प्रमुख कारण हो,” उनले भने ।

कोषाध्यक्ष लकान्द्रीले सरकारले सुनचाँदी क्षेत्रका लागि विशेषगरी सीप विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याए । प्राविधिक तालिम, आधुनिक उपकरणको प्रयोग र व्यवसायिक शिक्षा युवालाई प्रदान गर्न सकेमा नयाँ पुस्तालाई यस क्षेत्रमा आकर्षित गर्न सकिने उनको विश्वास छ । 

सरकारले प्राविधिक तालिम, आधुनिक उपकरणमा भन्सार छुट दिनु पर्ने उनको माग छ । ‘अहिले यस पेशामा विदेशी कामदारको माग धेरै छ । भारत तथा बंगलादेशबाट काम गर्न आउनेको संख्या ठूलो छ । स्वदेशी कालिगढहरूलाई  दक्ष सीप तथा प्रविधि नहुँदा विदेश पलायन भएका छन् भने स्वदेशी पैसा विदेशीयको छ । सरकारले समयमै ध्यान नदिए यो परम्परमगत पेशामा आधारीत व्यवसाय संकटमा पर्ने जोखिम रहेको छ ।’ उनले आजको अर्थसँगको कुराकानीमा भने ।      

“सीप विकासमा लगानी नगर्ने हो भने भविष्यमा सुनचाँदी उद्योगले झन् ठूलो जनशक्ति संकट भोग्नुपर्ने अवस्था आउन सक्छ । त्यसैले राज्यले यो क्षेत्रलाई केवल व्यापारका रूपमा मात्र नभई रोजगारी र सीप विकासको महत्वपूर्ण क्षेत्रका रूपमा हेर्नुपर्दछ,” उनले भने ।
व्यवसायीहरूले पनि कालीगढको सम्मानजनक पारिश्रमिक, सुरक्षित कार्य वातावरण र व्यवसायिक विकासका अवसर सुनिश्चित गर्नुपर्ने उनले बताए । यसले दक्ष जनशक्तिलाई स्वदेशमै टिकाइ राख्न सहयोग पुग्ने उनको विश्वास छ ।

कोषाध्यक्ष लकान्द्रीका अनुसार सुनचाँदी उद्योग नेपालको परम्परागत कला, संस्कृति र अर्थतन्त्रसँग जोडिएको महत्वपूर्ण क्षेत्र हो । यस क्षेत्रको संरक्षण र प्रवद्र्धनका लागि दक्ष कालीगढ उत्पादन तथा संरक्षणलाई प्राथमिकतामा राख्न आवश्यक रहेको उनले बताए ।

दक्ष कालीगढको अभाव केवल व्यवसायीको समस्या होइन, यो समग्र उद्योग र देशको सीप सम्पदासँग जोडिएको विषय हो । त्यसैले सरकार, व्यवसायी र सम्बन्धित निकायले संयुक्त रूपमा दीर्घकालीन समाधान खोज्नुपर्नेमा कोषाध्यक्ष लकान्द्रीले जोड दिए ।

विहीबार, ०४ असार २०८३, १३ : ३३

प्रतिक्रिया