काठमाडौं- भारतले नेपाली चिया निर्यातमा अघोषित रोक लगाएपछि इलाम र झापाका चिया उद्योगहरू बन्द हुन थालेका छन्। इलामका ५६ उद्योग यसअघि नै बन्द भइसकेका छन् भने बिहीबारदेखि झापाका ३० भन्दा बढी उद्योग र करिब दुई दर्जन चिया बगान पनि बन्द भएका छन्।
नेपाल चिया उत्पादक संघका अनुसार निर्यात ठप्प हुँदा उत्पादित चिया गोदाममै थन्किएको छ। समस्या समाधानका लागि सरकारसँग पटक–पटक आग्रह गर्दा पनि सुनुवाइ नभएपछि उद्योग बन्द गर्न बाध्य भएको संघले जनाएको छ।
संघका अध्यक्ष आदित्य पराजुलीले भारतले लगाएको अवरोध नहटेसम्म बन्दका कार्यक्रम जारी रहने चेतावनी दिएका छन्।
व्यवसायीहरूका अनुसार भारतमा वार्षिक ५ अर्ब रुपैयाँभन्दा बढीको नेपाली चिया निर्यात हुँदै आएको छ। निर्यात अवरुद्ध हुँदा चिया क्षेत्रमा आश्रित करिब ६० हजार श्रमिक, कर्मचारी र किसानको जीविकोपार्जन संकटमा परेको छ।
प्रतिक्रिया