सुनचाँदी

सुनचाँदीमा भारी गिरावट : एकैदिन सुन तोलामा १० हजार ५०० र चाँदी ३०५ रुपैयाँ सस्तो

शुक्रबार, ०५ असार २०८३, ११ : २०

काठमाडौं- नेपाली बजारमा साताको अन्तिम दिन शुक्रबार सुनचाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुनको भाउ प्रतितोला १० हजार ५०० रुपैयाँ र चाँदीको भाउ ३०५ रुपैयाँले घटेको हो।

मूल्य घटेसँगै छापावाला सुनको कारोबार मूल्य प्रतितोला २ लाख ८६ हजार ७०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ९७ हजार २०० रुपैयाँ रहेको थियो।

त्यस्तै, बिहीबार प्रतितोला ४ हजार ९४५ रुपैयाँमा कारोबार भएको असली चाँदी शुक्रबार ३०५ रुपैयाँ घटेर ४ हजार ६४० रुपैयाँमा झरेको छ।

महासंघका अनुसार हालसम्मकै उच्च मूल्य गत माघ १५ गते कायम भएको थियो। उक्त दिन सुन प्रतितोला ३ लाख ३९ हजार ३०० रुपैयाँ र चाँदी प्रतितोला ७ हजार ५०५ रुपैयाँमा कारोबार भएको थियो।

बजार विश्लेषकहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा देखिएको मूल्य उतारचढावको प्रभाव नेपाली बजारमा पनि परेको हो। विश्व बजारमा सुनचाँदीको मूल्य घटबढसँगै नेपालमा पनि महासंघले दैनिक रूपमा सुन तथा चाँदीको कारोबार मूल्य निर्धारण गर्दै आएको छ।

शुक्रबार, ०५ असार २०८३, ११ : २०

प्रतिक्रिया