काठमाडौं- द ब्रिटिस कलेजले बेलायती गुणस्तर परीक्षण निकाय British Accreditation Council (बीएसी) बाट पुनः अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको छ । यससँगै कलेजले नेपालकै पहिलो तथा हालसम्म एकमात्र शैक्षिक संस्थाका रूपमा उक्त मान्यता कायम राख्न सफल भएको जनाएको छ ।
द ब्रिटिस कलेज (The British College) अन्तर्गत जारी विज्ञप्तिअनुसार बीएसीको मान्यता सन् २०३० मे ३१ सम्म कायम रहनेछ । यो मान्यता प्राप्त गर्न बेलायतबाट आएको निरीक्षण टोलीले कलेजको शैक्षिक कार्यक्रम, अध्यापनको गुणस्तर, संस्थागत सुशासन, विद्यार्थी सेवा, भौतिक पूर्वाधार, अनलाइन शिक्षण प्रणाली तथा स्नातकहरूको रोजगारी सम्भावनालगायत पक्षको विस्तृत मूल्यांकन गरेको थियो ।
सन् १९८४ मा स्थापना भएको British Accreditation Council लाई बेलायत तथा अन्तर्राष्ट्रिय स्तरमा स्वतन्त्र उच्च शिक्षा संस्थाको गुणस्तर परीक्षण गर्ने प्रतिष्ठित निकाय मानिन्छ । यसको मान्यता शैक्षिक उत्कृष्टता, पारदर्शिता र संस्थागत सुशासनको अन्तर्राष्ट्रिय सूचकका रूपमा लिइन्छ ।
द ब्रिटिस कलेजका एकेडेमिक डिन डा. डेक्लान पी. ब्याननले यो उपलब्धिले कलेजको शैक्षिक प्रणाली र अन्तर्राष्ट्रियस्तरको शिक्षा दिने प्रतिबद्धताको पुष्टि गरेको बताए । कलेजका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत राजन कँडेलले नेपालमा यस्तो मान्यता प्राप्त गर्ने पहिलो कलेज हुनु गौरवको विषय भएको उल्लेख गरे ।
कलेजले पछिल्लो समय केही समूहबाट फैलाइएको भ्रामक सूचना र संस्थालाई लक्षित गतिविधिका बाबजुद स्वतन्त्र अन्तर्राष्ट्रिय मूल्यांकन प्रक्रियाबाट पुनः मान्यता प्राप्त गर्न सफल भएको दाबी गरेको छ । कलेजका अनुसार यसले अन्तर्राष्ट्रिय मापदण्डअनुसार संस्थागत व्यवस्थापन कायम रहेको स्वतन्त्र प्रमाणसमेत प्रस्तुत गरेको छ ।
प्रतिक्रिया