काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जनमत प्राप्त सरकारले करदाताबाट संकलित राजस्वको विवेकपूर्ण र आवश्यकताअनुसार उपयोग गर्ने बताएका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा आर्थिक विधेयक, २०८३ माथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले संसदले आवश्यक निर्देशन दिए सरकारले विशेष प्रकृतिका बजेट कार्यक्रमसमेत व्यवस्था गर्न सक्ने बताए।
अर्थमन्त्री वाग्लेले सरकारले विभिन्न स्रोतबाट उठाएको करलाई आवश्यकताका आधारमा खर्च गर्ने नीति अवलम्बन गरेको स्पष्ट पारे। उनले करलाई निश्चित उद्देश्यका लागि मात्र छुट्याएर प्रयोग गर्ने (इयरमार्किङ) व्यवस्था गर्न सकिए पनि त्यसले प्रशासनिक तथा कानुनी जटिलता निम्त्याउन सक्ने बताए। उनले संकलित सबै कर अन्ततः सञ्चित कोषमा जम्मा हुने र त्यसको उपयोग जनमत प्राप्त सरकारले प्राथमिकता र आवश्यकताअनुसार गर्ने उल्लेख गरे।
वाग्लेले पूर्वाधारका नाममा उठाइएको राजस्व विभिन्न राष्ट्रिय आवश्यकता पूरा गर्न प्रयोग हुने उदाहरण दिँदै बुढीगण्डकी आयोजनाको क्षतिपूर्तिका लागि अर्बौं रुपैयाँ विनियोजन गरिएको प्रसंग उल्लेख गरे। उनले प्रदूषण करबाट प्राप्त स्रोत पनि वातावरण, स्वास्थ्य तथा सम्बन्धित क्षेत्रका कार्यक्रममार्फत विनियोजन प्रक्रियामा प्रतिबिम्बित हुने बताए।
उनका अनुसार विशेष प्रकृतिका बजेट कार्यक्रम आवश्यक परे त्यसका लागि संसदले मार्गनिर्देशन गर्ने र सरकारले त्यसअनुसार कार्यान्वयन गर्ने व्यवस्था रहेको छ। अर्थमन्त्री वाग्लेले करको उपयोग गर्दा प्रशासनिक तथा कानुनी जटिलता न्यून हुने गरी सरकार अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरे।
प्रतिक्रिया