काठमाडौं- नुवाकोटको तारकेश्वर गाउँपालिकाका अध्यक्ष शिव अधिकारीमाथि सार्वजनिक जग्गा अतिक्रमण गरेको आरोप लागेको छ।
गाउँपालिका क्षेत्रभित्रका सार्वजनिक जग्गामा बनेका संरचना हटाउन ३५ दिने सूचना जारी गरेका अध्यक्ष अधिकारीकै घरले भने सार्वजनिक जग्गा ओगटेको र बाटोसमेत मिचेको स्थानीयले आरोप लगाएका छन्।
तारकेश्वर गाउँपालिका–२ सातदोबाटोस्थित अध्यक्ष अधिकारीको घर सार्वजनिक जग्गामा परेको तथा सडक क्षेत्रसमेत अतिक्रमण गरेको भन्दै स्थानीयले विरोध जनाएका हुन्।
अध्यक्ष अधिकारीले करिब तीन वर्षअघि गाउँपालिकाभित्र रहेको तारकेश्वर मन्दिर आसपासका सार्वजनिक जग्गामा बनेका घर टहरा हटाउन सूचना जारी गरेका थिए। उनले सार्वजनिक बाटोको दायाँबायाँ ४ मिटर क्षेत्रभित्र रहेका संरचना हटाउन निर्देशन दिएका थिए। उनले अतिक्रमित जग्गा हटाउने सूचना जारी गरे पनि आफ्नै घर समेत जाने भएपछि उक्त निर्णय अहिलेसम्म कार्यान्वयन गर्न सकेका छैनन् ।
एक स्थानीयका अनुसार, अध्यक्ष अधिकारीले अतिक्रमित जग्गा जग्गा खाली गर्न निर्देशन दिँदै ३५ दिने सार्वजनिक सूचना जारी गरेपनि आफ्नै घर जग्गा समेत जाने भएपछि कार्यान्वयन नगरी पछि हटेका हुन् । अधिकारीले निर्माण गरेको घर बाटोसँग जोडिएकाले सवारी आवतजावत र स्थानीयलाई पैदल हिँड्न समेत कठिन हुने गरेको ती स्थानीयको गुनासो छ ।
सार्वजनिक जग्गा संरक्षणको जिम्मेवारी लिएको जनप्रतिनिधिले सार्वजनिक जग्गा मिचेर घर बनाएको आरोप लाग्नु गम्भीर विषय भएको भन्दै स्थानीयले निष्पक्ष छानबिनको माग समेत गरेका छन्।
यस विषयमा प्रतिक्रिया लिन अध्यक्ष अधिकारीलाई पटक–पटक सम्पर्क गर्ने प्रयास गरिए पनि उनी सम्पर्कमा आउन चाहेनन्।
प्रतिक्रिया