काठमाडौं- साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। आज नेप्से परिसुचक १ दशमलव ४६ अंकले घट्दै २ हजार ७ सय दशमलव ६५ विन्दुमा कायम भएको हो।
अघिल्लो कारोबार दिन शुक्रबार नेप्से परिसूचक १ दशमलव ६३ अंकले बढेको थियो। सोमबार भने बजार सामान्य गिरावटसहित बन्द भएको हो।
कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ। शुक्रबार ४ अर्ब ५३ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा सोमबार ४ अर्ब ४४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज ११६ कम्पनीको सेयर मूल्य बढ्दा १४३ कम्पनीको घटेको छ। यस्तै, १४ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
समग्र बजार परिसूचक घटे पनि फाइनान्स समूहमा भने लगानीकर्ताको आकर्षण देखिएको छ। फाइनान्स समूहको सूचक सबैभन्दा धेरै १ दशमलव ०१ प्रतिशतले बढेको छ। यससँगै फाइनान्स समूहको सूचक जेठ २८ यताकै उच्च विन्दु २ हजार ४ सय ९० मा पुगेको छ।
फाइनान्स समूहका कम्पनीमध्ये मञ्जुश्री फाइनान्सको सेयर मूल्य सबैभन्दा धेरै ४ दशमलव ७२ प्रतिशतले बढेको छ। फाइनान्सबाहेक माइक्रोफाइनान्स समूह ० दशमलव ४२ प्रतिशत र व्यापार समूह ० दशमलव ९२ प्रतिशतले बढेका छन्।
यता बैंकिङ समूह ० दशमलव १० प्रतिशत, विकास बैंक ० दशमलव ०७ प्रतिशत, होटल तथा पर्यटन ० दशमलव १५ प्रतिशत, जलविद्युत् ० दशमलव २० प्रतिशत, लगानी ० दशमलव ०२ प्रतिशत, जीवन बीमा ० दशमलव ४५ प्रतिशत, उत्पादन तथा प्रशोधन ० दशमलव ०६ प्रतिशत, निर्जीवन बीमा ० दशमलव २१ प्रतिशत तथा अन्य समूह ० दशमलव २० प्रतिशतले घटेका छन्।
शुक्रबार मात्रै सूचीकृत भएका टक्सार पिखुवाखोला हाइड्रोपावर र याम्बलिङ हाइड्रोपावरको सेयर मूल्य सोमबार १५ प्रतिशतले बढेको छ। मूल्य वृद्धिसँगै दुवै कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३ सय ४५ रुपैयाँ पुगेको छ।
त्यस्तै, सोपान फर्मास्युटिकल्सको सेयर मूल्य ५ दशमलव ६६ प्रतिशतले बढ्दा एपोलो हाइड्रोपावरको ५ दशमलव २६ प्रतिशतले वृद्धि भएको छ।
यता गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स र भुजुङ हाइड्रोपावरको सेयर मूल्य ३ दशमलव ०४ प्रतिशतले घटेको छ। कारोबार रकमका आधारमा भने सोपान फर्मास्युटिकल्स अग्रस्थानमा रहेको छ।

प्रतिक्रिया