काठमाडौं - दाङको दंगीशरण गाउँपालिकाले आर्थिक वर्ष २०८३÷८४ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
मंगलबार बसेको २१ औं गाउँसभामा गाउँपालिका अध्यक्ष शम्भु गिरीले आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रम पेश गरेका थिए । प्रस्तुत नीति तथा कार्यक्रममा विद्यालयमा डिजिटल पूर्वाधार विकास, शिक्षण–सिकाइ प्रक्रियामा सुधारका लागि बजेट विनियोजन तथा वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूलाई उद्यमशीलतामा आबद्ध गराउन विशेष उद्यम कार्यक्रम सञ्चालन गर्ने नीति लिएको उल्लेख छ । त्यस्तै, कृषि क्षेत्रमा बढ्दो समस्याका रूपमा रहेको रासायनिक मल तथा विषादीको अत्यधिक प्रयोगलाई न्यूनीकरण गर्न जैविक मल र जैविक विषादी उत्पादन तथा प्रयोगलाई प्रोत्साहन गर्ने कार्यक्रम पनि नीति तथा कार्यक्रममा समेटिएको छ । अध्यक्ष गिरीले पेश गरेको नीति तथा कार्यक्रम सामान्य छलफलपछि मंगलबार नै गाउँसभाले पारित गरेको छ ।
गाउँसभाको पहिलो बैठकमा उपाध्यक्ष पिमा वली खड्काले न्यायिक समिति तथा राजस्व परामर्श समितिको प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिएन भने लेखा समितिका संयोजक रेशमबहादुर वलीले लेखा समितिको प्रगति प्रतिवेदन तथा आय–व्यय अनुमोदन प्रस्ताव पेश गरेका थिए । बैठकले गाउँपालिकाको लोगो तथा चिन्ह, विभिन्न समितिका प्रगति प्रतिवेदन र आर्थिक वर्ष २०८३÷८४ को वार्षिक नीति तथा कार्यक्रम सर्वसम्मत रूपमा अनुमोदन गरेको छ । नीति तथा कार्यक्रम पारित गर्ने अवसरमा गाउँपालिकाले उत्कृष्ट कार्यसम्पादन गर्ने शिक्षक तथा कर्मचारीलाई सम्मान तथा पुरस्कार प्रदान गरेको थियो । शिक्षकतर्फ जनता माध्यमिक विद्यालय बुटनियाँका शिक्षक प्रदीप देवकोटा तथा लक्ष्मीनारायण आधारभूत विद्यालय सलौराका शिक्षक भगन्दास चौधरी सम्मानित हुनु भएको छ । स्वास्थ्यतर्फ स्वास्थ्य चौकी हेकुलीमा कार्यरत गायत्री बस्नेत तथा कर्मचारीतर्फ गाउँपालिका कार्यालयका आईटी अधिकृत युवराज रिजाल र कार्यालय सहयोगी रुपन्या चौधरीलाई नगद, प्रमाणपत्र र दोसल्लासहित सम्मान गरिएको थियो ।
प्रतिक्रिया