काठमाडौं- नेपालको स्वास्थ्य सेवा क्षेत्रमा गुणस्तर, बिरामी सुरक्षा र अन्तर्राष्ट्रिय मान्यतासम्बन्धी तयारीलाई थप मजबुत बनाउने उद्देश्यका साथ नेपाल मेडिसिटी अस्पताल र सिङ्गापुरको अग्रणी सार्वजनिक स्वास्थ्य सेवा समूह सिङहेल्थबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ।
सिङ्गापुरमा आयोजित एक कार्यक्रममा नेपाल मेडिसिटी अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. अमित तोमर र सिङहेल्थका ग्रुप डाइरेक्टर, इन्टरनेशनल कोलाबोरेशन प्रोफेसर लन्डन लुसियन ओईले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
सम्झौता हस्ताक्षर कार्यक्रममा सिङहेल्थकी निर्देशक, इन्टरनेशनल कोलाबोरेशन विजया राव, इन्टरनेशनल कोलाबोरेशन अफिसकी आइरिन एङ तथा नेपाल मेडिसिटी अस्पतालका बिजनेस डेभलप्मेन्ट, ब्रान्डिङ तथा मार्केटिङ एभिपी तेन्जिङ कुन्सेल बज्राचार्यको उपस्थिति रहेको थियो।
यस सहकार्यअन्तर्गत स्वास्थ्य सेवा गुणस्तर व्यवस्थापन, बिरामी सुरक्षा, अन्तर्राष्ट्रिय मापदण्डको कार्यान्वयन तथा स्वास्थ्य संस्थाको अन्तर्राष्ट्रिय मान्यताका लागि आवश्यक तयारीमा ज्ञान, अनुभव र उत्कृष्ट अभ्यास आदानप्रदान गरिनेछ।
दुवै संस्थाबीच आवश्यकताअनुसार अस्पताल सञ्चालन प्रक्रिया, क्लिनिकल प्रोटोकल, बिरामी सुरक्षासम्बन्धी प्रणाली तथा अन्य प्राविधिक सामग्रीहरू पनि साझेदारी गरिने बताइएको छ।
सिङहेल्थ सिङ्गापुरको सबैभन्दा ठूलो सार्वजनिक स्वास्थ्य सेवा समूह हो। चिकित्सा शिक्षा, अनुसन्धान, बिरामी सुरक्षा तथा उच्चस्तरीय स्वास्थ्य सेवा व्यवस्थापनका क्षेत्रमा सिङहेल्थले अन्तर्राष्ट्रिय प्रतिष्ठा हासिल गरेको छ।
नेपाल मेडिसिटी अस्पतालले पनि विश्वस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने आफ्नो प्रतिबद्धतालाई निरन्तर अघि बढाउँदै आएको जनाएको छ। अस्पतालका अनुसार यो सहकार्यले गुणस्तर सुधार, उपचार अनुभवमा सकारात्मक परिवर्तन तथा बिरामी सुरक्षाका अभ्यासलाई थप प्रभावकारी बनाउनेछ।
नेपाल मेडिसिटीका प्रमुख कार्यकारी अधिकृत डा. अमित तोमरले यस साझेदारीले नेपालको स्वास्थ्य क्षेत्रमा गुणस्तरीय सेवा प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ। उहाँका अनुसार सहकार्यले बिरामीको उपचार अनुभव सुधार्नुका साथै स्वास्थ्य सेवाप्रति जनविश्वास अभिवृद्धि गर्न सहयोग पुग्नेछ।
नेपाल मेडिसिटी र सिङहेल्थबीचको यो सहकार्यलाई नेपालको स्वास्थ्य सेवा प्रणालीलाई अन्तर्राष्ट्रिय स्तरका उत्कृष्ट अभ्याससँग जोड्ने महत्वपूर्ण पहलका रूपमा हेरिएको छ।
प्रतिक्रिया