आर्थिक वर्ष २०८३/८४ को बजेट

ललितपुर महानगरको बजेट ७ अर्ब ४८ करोड, चालु खर्चमा ९ प्रतिशत वृद्धि

बुधबार, १० असार २०८३, १७ : २६

काठमाडौं- ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ७ अर्ब ४८ करोड ८६ लाख ८० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

बुधबार आयोजित नगरसभामा उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले आगामी आवको बजेट प्रस्तुत गर्दै प्रशासनिक खर्च र सेवा प्रवाहलाई ध्यानमा राखेर बजेट संरचना तयार गरिएको बताइन्।

महानगरले चालु खर्चतर्फ ३ अर्ब २५ करोड १८ लाख ५३ हजार रुपैयाँ विनियोजन गरेको छ। चालु आर्थिक वर्षमा यस शीर्षकमा २ अर्ब ९६ करोड ६४ लाख १८ हजार रुपैयाँ छुट्याइएको थियो। कर्मचारीको तलबवृद्धि, प्रोत्साहन भत्ता तथा अन्य प्रशासनिक दायित्व बढेकाले आगामी वर्ष चालु खर्चमा उल्लेख्य वृद्धि गरिएको महानगरले जनाएको छ।

तथ्यांकअनुसार चालु खर्च गत वर्षको तुलनामा करिब २८ करोड रुपैयाँले बढ्ने अनुमान गरिएको छ, जुन चालु आवको तुलनामा करिब ९ प्रतिशत बढी हो।

यता विकास निर्माण तथा पूर्वाधारका कार्यक्रम समेटिने पुँजीगत खर्चतर्फ भने ४ अर्ब २३ करोड ६९ लाख २७ हजार रुपैयाँ विनियोजन गरिएको छ। चालु आर्थिक वर्षमा पुँजीगत खर्चका लागि ४ अर्ब ५० करोड ७७ लाख २९ हजार रुपैयाँ छुट्याइएको थियो।

संघीय सरकार तथा प्रदेश सरकारबाट पुँजीगत शीर्षकमा प्राप्त हुने अनुदान घटेकाले गत वर्षको तुलनामा पुँजीगत खर्च करिब २७ करोड रुपैयाँले कम गरिएको महानगरको भनाइ छ।

महानगरले आगामी वर्ष सेवा प्रवाह, सामाजिक सुरक्षा, पूर्वाधार विकास तथा शहरी व्यवस्थापनलाई प्राथमिकतामा राखेर बजेट कार्यान्वयन गर्ने जनाएको छ।

बुधबार, १० असार २०८३, १७ : २६

प्रतिक्रिया