सर्वोत्तम पेन्ट्सको आईपीओ बाँडफाँड सम्पन्न, ७० हजार ५५० जनाले मात्रै पाए शेयर

विहीबार, ११ असार २०८३, १२ : ४०

काठमाडौं- सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिज लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिहीबार बाँडफाँड भएको छ। बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड ले नक्सालस्थित आफ्नो कार्यालयमा गोलाप्रथामार्फत आईपीओ बाँडफाँड गरेको हो।

कम्पनीले जेठ २८ गतेदेखि असार २ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ७ लाख ५ हजार ५ सय कित्ता साधारण शेयर निष्कासन गरेको थियो। उक्त आईपीओमा लगानीकर्ताको अत्यधिक आकर्षण देखिएको छ।

बिक्री प्रबन्धकका अनुसार आईपीओमा कुल २८ लाख ९४ हजार २३२ वटा आवेदन परेको थियो। तीमध्ये २८ लाख ५० हजार २५ वटा आवेदन योग्य (सदर) ठहरिएका छन् भने ४४ हजार २०७ वटा आवेदन विभिन्न कारणले बदर भएका छन्।

निष्कासन गरिएको शेयरभन्दा धेरै गुणा बढी आवेदन परेकाले गोलाप्रथा विधिबाट बाँडफाँड गरिएको हो। बाँडफाँडअनुसार ७० हजार ५५० जना आवेदकले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन्। बाँकी करिब २७ लाख ७९ हजारभन्दा बढी योग्य आवेदक भने शेयर प्राप्त गर्नबाट वञ्चित भएका छन्।

यो निष्कासनमा करिब २.४७ प्रतिशत योग्य आवेदकले मात्रै शेयर पाएका छन् भने ९७ प्रतिशतभन्दा बढी आवेदकको हात खाली भएको छ। पछिल्ला वर्षहरूमा सर्वसाधारणका लागि खुला गरिएका आईपीओमध्ये यो पनि अत्यधिक प्रतिस्पर्धात्मक निष्कासनमध्ये एक बनेको छ।

नेपाल धितोपत्र बोर्डले गत वैशाख २ गते कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको थियो। सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिजले विभिन्न प्रकारका पेन्ट, प्राइमर तथा सम्बन्धित उत्पादनको उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ। आईपीओको नतिजा Mero Share तथा CDSC and Clearing Limited को वेबसाइटमार्फत हेर्न सकिनेछ।

विहीबार, ११ असार २०८३, १२ : ४०

प्रतिक्रिया