काठमाडौं- नेपाली सेयर बजारमा गिरावटको क्रम जारी रहँदा बिहीबार पनि नेप्से परिसूचक ओरालो लागेको छ। लगातार चौथो कारोबार दिन बजार घट्दै नेप्से ८.५० अंकले झरेर २६५१ विन्दुमा कायम भएको छ।
यो स्तर फागुन १३ यताकै सबैभन्दा न्यून रहेको छ। पछिल्लो एक महिनाको अवधिमा मात्रै नेप्से १३५ अंकले घटेको छ। जेठ ११ गते २७८६ विन्दुमा रहेको बजार अहिले उल्लेख्य रूपमा ओरालो लागेको देखिन्छ।
बिहीबार कारोबारको सुरुआती समयमा दबाबमा रहेको बजार साढे १२ बजेपछि केही सुधारको संकेत देखिए पनि पौने २ बजेपछि पुनः बिक्री दबाब बढ्दा नेप्से नकारात्मक क्षेत्रमा बन्द भएको हो।
कारोबार रकममा पनि उल्लेख्य गिरावट आएको छ। अघिल्लो कारोबार दिन ४ अर्ब ४१ करोड रुपैयाँको कारोबार भएकोमा बिहीबार २ अर्ब ८३ करोड रुपैयाँमा सीमित भएको छ। यो कारोबार रकम जेठ ४ यताकै न्यून हो।
आज ८३ कम्पनीको शेयर मूल्य बढ्दा १७२ कम्पनीको मूल्य घटेको छ भने १९ कम्पनीको मूल्य स्थिर रहेको छ। उत्पादन तथा प्रशोधन समूहबाहेक सबै उपसूचक राताम्य बनेका छन्। उत्पादन तथा प्रशोधन समूह ०.१४ प्रतिशतले बढेको छ।
सबैभन्दा बढी गिरावट व्यापार समूहमा देखिएको छ, जसको सूचक १.९६ प्रतिशतले घट्यो। यस्तै बैंकिङ ०.१९, विकास बैंक ०.१५, फाइनान्स ०.३६, होटल तथा पर्यटन ०.५३, जलविद्युत् ०.४१, लगानी ०.१६, जीवन बीमा ०.२२, माइक्रोफाइनान्स ०.१५, निर्जीवन बीमा ०.४० तथा अन्य समूह ०.४७ प्रतिशतले घटेका छन्।
यस दिन हालै सूचीकृत भएका टक्सार पिखुवाखोला हाइड्रोपावर र याम्बलिङ हाइड्रोपावर को शेयर मूल्य १५ प्रतिशतले बढ्दै ५२४ रुपैयाँ ६० पैसामा पुगेको छ।
त्यस्तै कालिका लघुवित्त वित्तीय संस्था को शेयर मूल्य १२.८४ प्रतिशत, सप्तकोशी विकास बैंक को ८.२० प्रतिशत तथा रिलायन्स स्पिनिङ मिल्स को ३.२३ प्रतिशतले बढेको छ।
गिरावटतर्फ भुजुङ हाइड्रोपावर को शेयर मूल्य ११.०३ प्रतिशतले घटेको छ। साथै सीवाईसी लघुवित्त वित्तीय संस्था ८.९७ प्रतिशत, भगवती हाइड्रोपावर ५.८४ प्रतिशत र थ्रीस्टार हाइड्रोपावर ५.५७ प्रतिशतले घटेका छन्।
कारोबार रकमका आधारमा सोपान फर्मास्युटिकल्स, रिलायन्स स्पिनिङ मिल्स, सप्तकोशी विकास बैंक, आँखुखोला जलविद्युत् कम्पनी र नेपाल एसबीआई बैंक अग्रस्थानमा रहेका छन्।
प्रतिक्रिया