काठमाडौं- नेपाल डेरी एसोसिएसनले २३औँ राष्ट्रिय धान दिवस तथा असार १५ रोपाइँ महोत्सव–२०८३ को अवसरमा दही–चिउरा प्रवर्द्धन तथा उपभोग कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ।
एसोसिएसनले जारी गरेको प्रेस विज्ञप्तिमा असार १५ नेपाली कृषि संस्कृति, खाद्य सुरक्षा, ग्रामीण अर्थतन्त्र तथा किसानको श्रमसँग जोडिएको विशेष पर्व भएको उल्लेख गर्दै यस अवसरमा दही–चिउरा खाने परम्पराको संरक्षण र प्रवर्द्धन गर्न कार्यक्रम आयोजना गरिएको जनाएको छ।
नेपाल सरकारले तय गरेको ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने नारालाई आत्मसात् गर्दै एसोसिएसनले सरकारी, सहकारी र निजी क्षेत्रका निकायसँगको सहकार्यमा दही–चिउरा प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्न लागेको हो।
विज्ञप्तिमा दुग्ध क्षेत्र लाखौं किसान परिवारको जीविकोपार्जनसँग प्रत्यक्ष रूपमा जोडिएको उल्लेख गर्दै दूध तथा दुग्धजन्य पदार्थको उत्पादन र उपभोग वृद्धि, किसानको हित संरक्षण तथा स्वदेशी उत्पादनको प्रवर्द्धनमा एसोसिएसनले निरन्तर काम गरिरहेको जनाएको छ।
एसोसिएसनका अनुसार असार १५ मा दही–चिउरा खाने परम्परा केवल सांस्कृतिक अभ्यास मात्र नभई कृषकको श्रमप्रतिको सम्मान, स्थानीय उत्पादनको उपयोग र सामाजिक सद्भावको प्रतीक पनि हो। खेतबारीमा रोपाइँको कठिन श्रमपछि दही–चिउरा सेवन गर्ने चलनले किसानलाई ऊर्जा प्रदान गर्नुका साथै सामूहिकताको भावनालाई मजबुत बनाएको उल्लेख गरिएको छ।
विज्ञप्तिमा गाउँघरमा रोपाइँसँग जोडिएका सांस्कृतिक गतिविधि, सामूहिक भोजन र स्थानीय उत्पादनको प्रयोग नेपाली समाजको अमूल्य सांस्कृतिक सम्पदा भएको उल्लेख गर्दै यस्ता परम्पराको संरक्षण आवश्यक रहेको औँल्याइएको छ।



प्रतिक्रिया