तुलसीपुरका उत्कृष्ट १२ व्यावसायिक पशुपालक कृषक सम्मानित

शुक्रबार, १२ असार २०८३, १२ : ४२

दाङ– तुलसीपुर उपमहानगरपालिकाले नगरभित्रका उत्कृष्ट १२ जना व्यावसायिक पशुपालक कृषकलाई नगदसहित सम्मान गरेको छ। उत्कृष्ट कृषकलाई जनही १५ हजार रुपैयाँ नगद र प्रमाणपत्र प्रदान गरिएको हो।

पशु सेवा शाखाको आयोजनामा बिहीबार आयोजित कार्यक्रममा वडा नं. १ का निमबहादुर बुढामगर, वडा नं. ३ का विष्णुप्रसाद शर्मा, वडा नं. ४ का मनोज चौधरी, वडा नं. ६ का डम्बर डाँगी, वडा नं. ७ की कल्पना केसी ढकाल, वडा नं. ८ का शसिराम बुढाथोकी, वडा नं. ९ की सुन्तली चौधरी, वडा नं. ११ का डिल्लीबहादुर वली, वडा नं. १४ का चैत्या चौधरी, वडा नं. १५ का कृष्णप्रसाद शर्मा, वडा नं. १६ की ख्यामकुमारी वली र वडा नं. १८ की मधुमाया जिसी सम्मानित भएका हुन्।

यसै अवसरमा उपमहानगरपालिकाले १२ जना कृषकलाई शतप्रतिशत अनुदानमा चार्जेबल स्प्रेयर र बुट पनि वितरण गरेको छ। लाभग्राहीमा नारायण गौतम, विमलकुमार पोखरेल, तिलकराम बस्नेत, हरिकला खत्री, खुसलराम खड्का, विमलाकुमारी न्यौपाने, कल्पना केसी ढकाल, हिराकुमारी वली, केबल रोकाय, शसिराम बुढाथोकी, सुनिल बस्नेत र रामचन्द्र भुषाल रहेका छन्।

तुलसीपुरउपमहानगर पालिकाका  नगरप्रमुख टिकाराम खड्काले पछिल्ला दुई वर्षदेखि किसानमुखी बजेटलाई प्राथमिकता दिइएको बताउँदै आगामी आर्थिक वर्षका लागि कृषि तथा पशुपालन क्षेत्रमा करिब ८ करोड रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिए।

प्रमुख प्रशासकीय अधिकृत केशवराज पाँडेले कृषि उत्पादन गर्ने किसानलाई सम्मान गर्ने संस्कृतिको विकास आवश्यक रहेको बताउँदै सम्मान र अनुदानले कृषकलाई थप उत्साहित बनाउने विश्वास व्यक्त गरे।

पशु सेवा शाखाका प्रमुख डा। मनोज वलीका अनुसार उत्कृष्ट कृषक छनोटका लागि १८ जनाको आवेदन परेकोमा १२ जना छनोट भएका हुन्। सबै १९ वटै वडाबाट आवेदन नआएकाले सबै वडाका किसानलाई समेट्न नसकिएको उनले बताए।

वडा नं. १ का अध्यक्ष हुमकान्त सापकोटाले किसानको हकहित संरक्षणका लागि किसान सञ्जाल आवश्यक रहेको धारणा राख्नुभयो। सम्मानित कृषक शसिराम बुढाथोकीले उपमहानगरपालिकाबाट प्राप्त सम्मानले थप उत्साह मिलेको प्रतिक्रिया दिए।

कृषि विकास शाखाका संयोजक लक्ष्मण चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण पशु सेवा शाखाकी सुनिता शर्माले गर्नुभएको थियो। सम्मानित कृषकहरूले आफ्नो मेहनतको कदर भएको भन्दै खुसी व्यक्त गरेका छन्।
 

शुक्रबार, १२ असार २०८३, १२ : ४२

प्रतिक्रिया