काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत दोस्रो चरणको पदाधिकारी निर्वाचनका लागि उम्मेदवारहरूको नामावली सार्वजनिक भएको छ।
रास्वपाको केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको सूचीअनुसार उपसभापति ९महिला०, महामन्त्री र तीन सहमहामन्त्री पदका लागि प्रतिस्पर्धा हुने भएको छ। यसअघि स्वर्णिम वाग्ले उपसभापतिमा निर्विरोध निर्वाचित भइसकेकाले उक्त पदमा मतदान हुने छैन।
महिला उपसभापति पदका लागि सोबिता गौतम र तोसिमा कार्की चुनावी मैदानमा उत्रिएका छन्।
महामन्त्री पदमा प्रमोद न्यौपाने, राजुनाथ पाण्डे, मनिष झा, रन्जु दर्शना, गणेश कार्की, गणेश पराजुली, सागर ढकाल र विपिन कुमार आचार्य गरी आठ जनाले उम्मेदवारी दिएका छन्। यसअघि उम्मेदवारी दिएका शिशिर खनाल र जगदीश खरेलले भने उम्मेदवारी फिर्ता लिएका छन्।
खुला सहमहामन्त्री पदमा रमेश प्रसाईं, यज्ञमणि न्यौपाने, सुलभ खरेल, असिम शाह, अशोक कुमार चौधरी, मिलन लिम्बु, पुकार बम, राजीव खत्री, विजय जैरू, हरि ढकाल र हिमेष पन्तबीच प्रतिस्पर्धा हुनेछ।
महिला सहमहामन्त्री पदका लागि जुली यादव, जमुना शर्मा (विदुषी), कामिनी कुमारी चौधरी, निशा डाँगी र रिमा विश्वकर्माले उम्मेदवारी दर्ता गराएका छन्।
यसअघि सम्पन्न पहिलो चरणको निर्वाचनबाट सभापति तथा ९९ जना केन्द्रीय सदस्य चयन भइसकेका छन्।
निर्वाचन आयोगले उम्मेदवारी फिर्ता, दाबी–विरोध तथा छानबिन प्रक्रिया पूरा भएपछि अन्तिम उम्मेदवारको नामावली प्रकाशित गरी मतदान गराउने जनाएको छ।
यद्यपि आयोगले बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म मतदान गर्ने प्रारम्भिक तालिका सार्वजनिक गरे पनि उम्मेदवारको सूची ढिलो गरी सार्वजनिक भएकाले सोही तालिकाअनुसार मतदान हुन नसक्ने भएको छ।
प्रतिक्रिया