ताजा समाचार

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्र सुदृढ बनाउन रणनीतिक सहकार्य

शुक्रबार, १२ असार २०८३, १६ : ०९

काठमाडौं- टाइम्स हायर एजुकेसन (THE) द्वारा आयोजित ग्लोबल सस्टेनेबल डेभलपमेन्ट कंग्रेस (GSDC) २०२६ का क्रममा जकार्तामा ग्लोकल प्रा. लि. र टाइम्स हायर एजुकेसनबीच रणनीतिक सहकार्यसम्बन्धी समझदारीपत्र (MoU) मा हस्ताक्षर भएको छ । यो सहकार्य नेपालको उच्च शिक्षा क्षेत्रको गुणस्तर, अन्तर्राष्ट्रिय पहुँच र विश्वव्यापी सहभागिता अभिवृद्धि गर्ने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।

समझदारीपत्रमा ग्लोकल प्रा. लि.का अध्यक्ष आशिष ठाकुर तथा टाइम्स हायर एजुकेसनका एशिया–प्रशान्त (APAC) क्षेत्रका अध्यक्ष मेई मेई लिम ले हस्ताक्षर गरेका हुन् । यस सहकार्यमार्फत टाइम्स हायर एजुकेसनको उच्च शिक्षा सम्बन्धी विश्वव्यापी अनुभव र ग्लोकलको शिक्षा, युवा तथा सीप विकास क्षेत्रमा रहेको अनुभवलाई एकीकृत गर्दै नेपाल तथा दक्षिण एशियाको उच्च शिक्षा क्षेत्रमा सकारात्मक योगदान पुर्याइनेछ ।

सहकार्यका प्रमुख क्षेत्रहरू

विश्वविद्यालय तथा सरकारी निकायलाई सहयोग: नेपालका विश्वविद्यालय र सम्बन्धित सरकारी निकायहरूको शैक्षिक गुणस्तर सुधार, अन्तर्राष्ट्रिय पहिचान, प्रभाव मुल्याङ्कन तथा रणनीतिक विकासका क्षेत्रमा सहकार्य गरिनेछ । साथै, विश्वस्तरीय अभ्यास, तथ्याङ्कमा आधारित निर्णय प्रक्रिया र संस्थागत सुधारका लागि आवश्यक सहयोग उपलब्ध गराइनेछ ।

“स्टडी इन नेपाल” अभियानको प्रवद्र्धन: नेपाललाई अन्तर्राष्ट्रिय शिक्षा गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यसहित “स्टडी इन नेपाल” अभियानलाई विश्वस्तरमा प्रवद्र्धन गर्ने सम्भावनाहरू खोजिनेछन् ।

यस पहलमार्फत नेपालका विश्वविद्यालयहरूको शैक्षिक क्षमता, अनुसन्धानका अवसर तथा उत्कृष्ट अभ्यासलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गरिनेछ । साथै, नेपाललाई दक्षिण एशियामा गुणस्तरीय शिक्षा, अनुसन्धान तथा अन्तरदेशीय शैक्षिक सहकार्य (TNE) को उदीयमान केन्द्रका रूपमा स्थापित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

संस्थागत विकास र रणनीतिक परामर्श: दुवै संस्थाले विश्वविद्यालय, सरकार, उद्योग तथा विकास साझेदारहरूसँग मिलेर उच्च शिक्षा प्रणाली सुदृढीकरण, सीप विकास, रोजगारीयोग्यता अभिवृद्धि, संस्थागत रूपान्तरण तथा नीतिगत सुधारका क्षेत्रमा सहकार्य अघि बढाउनेछन् ।
साथै, नेपालमा शैक्षिक, संस्थागत, सरकारी तथा कर्पोरेट परामर्शसम्बन्धी सम्भावित परियोजनाहरूको पहिचान र कार्यान्वयनका अवसरहरू पनि संयुक्त रूपमा खोजिनेछन् ।

IMG 2 (1)

समझदारीपत्रमा हस्ताक्षरपछि ग्लोकल प्रा. लि.का अध्यक्ष आशिष ठाकुर ले भने, “नेपालको उच्च शिक्षा क्षेत्र परिवर्तनको महत्वपूर्ण चरणमा छ । दिगो प्रगतिका लागि अन्तर्राष्ट्रिय सहकार्य, विश्वस्तरीय ज्ञान र स्थानीय आवश्यकतालाई विश्वव्यापी अवसरसँग जोड्न आवश्यक छ । टाइम्स हायर एजुकेसनसँगको यस सहकार्यले नेपाली विश्वविद्यालयहरूको क्षमता अभिवृद्धि, ‘स्टडी इन नेपाल’ अभियानको प्रवद्र्धन तथा नवप्रवर्तन र अन्तर्राष्ट्रिय सहभागिताका नयाँ अवसर सिर्जना गर्न मद्दत गर्नेछ ।”

उनले नेपालसँग गुणस्तरीय शिक्षा, युवा जनशक्ति, अनुसन्धान र क्षेत्रीय नेतृत्वका क्षेत्रमा ठूलो सम्भावना रहेको उल्लेख गर्दै यस सहकार्यले नेपाललाई अन्तर्राष्ट्रिय शिक्षा तथा ज्ञान केन्द्रका रूपमा स्थापित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

टाइम्स हायर एजुकेसनका एशिया–प्रशान्त क्षेत्रका अध्यक्ष मेई मेई लिम ले नेपाल उच्च शिक्षा विकासका लागि ठूलो सम्भावना भएको देश रहेको बताउँदै विश्वविद्यालय, सरकार र अन्य सरोकारवालाबीचको सहकार्यलाई थप मजबुत बनाउन आफ्नो संस्था प्रतिबद्ध रहेको बताए ।

उनले भने, “हामी ग्लोकलसँग सहकार्य गर्दै नेपालका विश्वविद्यालयहरूको अन्तर्राष्ट्रिय दृश्यता, क्षमता विकास, प्रभाव मापन तथा विश्वव्यापी सहभागिता अभिवृद्धिका अवसरहरू विस्तार गर्न उत्साहित छौं ।” उनले विश्वविद्यालय, सरकार, उद्योग र विश्वव्यापी ज्ञान सञ्जालबीच बलियो सहकार्यमार्फत दिगो र प्रभावकारी परिवर्तन सम्भव हुनेमा जोड दिए ।

साझा प्रतिबद्धता

यो साझेदारी ज्ञान आदानप्रदान, अन्तर्राष्ट्रिय सहकार्य, रणनीतिक परामर्श तथा नवप्रवर्तनात्मक पहलमार्फत नेपालको उच्च शिक्षा क्षेत्रलाई थप सशक्त बनाउने साझा प्रतिबद्धताको प्रतीक हो ।

नेपालले क्षेत्रीय तथा विश्वव्यापी शिक्षा प्रणालीमा आफ्नो भुमिका विस्तार गरिरहेको वर्तमान अवस्थामा यस सहकार्यले विश्वविद्यालय, नीति निर्माता, विद्यार्थी, अनुसन्धानकर्ता तथा उद्योग क्षेत्रका सरोकारवालाहरूका लागि नयाँ अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ ।

दुवै संस्थाले शिक्षा, अनुसन्धान, सीप विकास, रोजगारी, नवप्रवर्तन तथा अन्तर्राष्ट्रिय सहकार्यलाई केन्द्रमा राखेर नेपालको उच्च शिक्षा क्षेत्रलाई थप प्रतिस्पर्धी, प्रभावकारी र विश्वस्तरमा परिचित बनाउन संयुक्त रूपमा काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

ग्लोकल प्रा. लि. बारे

ग्लोकल प्रा. लि. शिक्षा, सीप विकास, रोजगारीयोग्यता, उद्यमशीलता, युवा सहभागिता तथा अन्तर्राष्ट्रिय सहकार्यका क्षेत्रमा कार्यरत नेपाली संस्था हो । ग्लोकल टिन हिरो, स्किल विक, ग्लोकल अफ्टर स्कुल, युथ डाइलग तथा सीईओ अनप्लग्डजस्ता पहलमार्फत यसले नेपाल तथा दक्षिण एशियाका हजारौं युवासँग काम गर्दै आएको छ ।

टाइम्स हायर एजुकेसन बारे

टाइम्स हायर एजुकेसन (TNE) विश्वका अग्रणी उच्च शिक्षा तथ्याङ्क, र्याङ्किङ, अनुसन्धान तथा विश्लेषण प्रदान गर्ने संस्थामध्ये एक हो । यसले विश्वभरका विश्वविद्यालय, सरकार तथा शैक्षिक संस्थाहरूलाई उच्च शिक्षामा उत्कृष्टता, प्रभाव, अन्तर्राष्ट्रियकरण र नवप्रवर्तन प्रवद्र्धन गर्न सहयोग गर्दै आएको छ ।
 

शुक्रबार, १२ असार २०८३, १६ : ०९

प्रतिक्रिया