ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला

शनिबार, १३ असार २०८३, ०९ : ४४

काठमाडौं- ग्लोबल आइएमई बैंक लिमिटेडले मुलुकमा उद्यमशिलताको विकास र साना तथा मझौला उद्यमको प्रवद्र्धन गर्ने उद्देश्यले ग्लोबल आइएमई उद्यमशाला कार्यक्रम संचालन गर्ने घोषणा गरेको छ ।

विश्व लघु, साना तथा मझौला व्यवसाय दिवस २०२६ को अवसरमा आयोजित कार्यक्रम मार्फत् उद्यमशाला कार्यक्रमको घोषणा गर्दै इन्क्यूबेसन कार्यक्रमका लागि देशभरका उद्यमी तथा नवप्रवर्तनको सोच भएका व्यक्तिहरुबाट आवेदन आह्वान गरेको छ । 

यस उद्यमशाला कार्यक्रमको मुख्य उद्देश्य नवप्रवर्तनको सोच भएका व्यक्तिहरुलाई सफल उद्यमी बन्न प्रेरित गर्नुका साथै सञ्चालनमा रहेका लघु, साना तथा मझौला व्यवसायमा आवद्ध व्यवसायहरुलाई दिगो र प्रतिष्ठित व्यवसाय बनाउन आवश्यक  सैद्धान्तिक एवम् व्यवहारिक ज्ञान, सीप तथा परामर्श प्रदान गर्नु हो । 

बैंकको प्रधान कार्यालय कमलादी, काठमाडौँमा आयोजित एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र राज रेग्मीले उद्यमशाला कार्यक्रमको विधिवत् घोषणा गर्दै कार्यक्रमका लागि आवेदन खुल्ला भएको घोषणा गरेका छन् ।

“लघु, साना तथा मझौला व्यवसायीहरूले भोग्नुपर्ने साझा चुनौतीहरूलाई सम्बोधन गर्न बैंकले यो प्लेटफर्म तयार गरेको हो । सम्बन्धित क्षेत्रका विषयविज्ञ, अनुभवी व्यवसायी तथा प्रशिक्षकहरू मार्फत सहभागीहरूलाई व्यावहारिक ज्ञान र समस्या समाधानका उपायहरू प्रदान गरिनेछ,” उनले भने ।

उद्यमशाला कार्यक्रमअन्तर्गत बैंकले मुख्यतया दुईवटा ढाँचामा सहयोग गर्नेछ । पहिलो इन्क्युबेसन र दोस्रो एक्सीलेरेसन । इन्क्युबेसन कार्यक्रम नयाँ र नवप्रवर्तनकारी व्यावसायिक सोच भएका तर उद्यमशीलताको यात्रा कसरी सुरु गर्ने भन्ने अन्योलमा रहेका युवाहरूलाई लक्षित गरी सञ्चालन गरिनेछ । यसअन्तर्गत उनीहरूको क्षमता अभिवृद्धि, व्यवसायको सञ्जाल विस्तार र मार्गनिर्देशन प्रदान गरिनेछ ।

त्यसैगरी, एक्सीलेरेसन कार्यक्रमअन्तर्गत हाल सञ्चालनमा रहेका तर व्यवसाय विस्तार वा स्तरोन्नतिमा कठिनाइ भोगिरहेका उद्यमीहरूलाई समेटिनेछ । यस अन्तर्गत क्षमता विकास, आधुनिक प्रविधिको प्रयोग, बजारीकरण र सरोकारवाला निकायहरूसँगको पहुँचमा सहजीकरण गरिनेछ ।

यस कार्यक्रममार्फत सहभागीहरूले व्यवसाय दर्ता, कर तथा कानुनी प्रक्रिया, बजार अध्ययन, उत्पादन प्रक्रिया, वित्तीय व्यवस्थापन र बैंक तथा वित्तीय संस्थासँगको पहुँच जस्ता महत्वपूर्ण विषयमा गहन व्यावहारिक ज्ञान प्राप्त गर्ने बैंकले विश्वास लिएको छ ।

उक्त उद्घाटन समारोहमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत, उच्च पदस्थ व्यवस्थापकहरू, साझेदार संस्थाका प्रतिनिधिहरू तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

ग्लोबल आइएमई बैंक ख्यातिप्राप्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ । बैंकले बैंक अफ द इयर २०१४, बेष्ट इन्टरनेट बैंक २०१६, बेष्ट बैंक नेपाल २०२४, २०२५ र २०२६, युरो मनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेष्ट बैंक ईएसजी नेपाल २०२४, बेष्ट इम्प्लोयर जस्ता प्रतिष्ठित अवार्डहरु प्राप्त गरिसकेको छ । 

ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३४४ शाखा कार्यालय, ३६८ एटिएम, १४७ शाखा रहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,००० भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा  पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।
 

शनिबार, १३ असार २०८३, ०९ : ४४

प्रतिक्रिया