काठमाडौं- नेपाल धितोपत्र बोर्ड (सेबोन)का नवनियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अध्यक्ष भट्टलाई शपथ गराएका हुन्। मन्त्रिपरिषद्को असार ५ गतेको बैठकले भट्टलाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो।
शपथपछि अर्थमन्त्री वाग्लेले अध्यक्ष भट्टलाई कुनै पनि प्रकारको लोभ, प्रलोभन वा बाह्य प्रभावमा नपरी लगानीकर्ताको हित र लगानी सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिए।
उनले पुँजी बजारमा विश्वासको वातावरण निर्माण गर्दै लगानीकर्ताको हित संरक्षण र पुँजी परिचालनमार्फत आर्थिक वृद्धिमा योगदान पुर्याउने गरी बोर्डले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताए।
‘कुनै पनि लोभ र प्रभावमा नपरी पुँजी बजारका लगानीकर्ताको लगानीको सुरक्षा गर्नुहोस्। म तपाईंको साथमा छु, सरकारले आवश्यक सबै सहयोग गर्छ। पुँजी परिचालनमार्फत आर्थिक वृद्धिको वातावरण निर्माण गर्नुहोस्,’ अर्थमन्त्री वाग्लेले भने।
उनले पुँजी बजार सुधारका लागि दैनिक, साप्ताहिक, मासिक, छ महिनाका र वार्षिक कार्ययोजना तयार गरी कार्यान्वयन गर्न पनि निर्देशन दिए। बजारमा फैलिने अनावश्यक हल्ला र अफवाहका कारण साना लगानीकर्ता त्रसित हुने अवस्था अन्त्य गर्न विशेष पहल गर्नुपर्नेमा उनले जोड दिए।
‘धेरै बोलेर होइन, काम गरेर देखाउनुहोस्। सुधारका योजना स्पष्ट समयसीमासहित कार्यान्वयन गर्नुहोस्। बजारमा विश्वास बढाउँदै नियामकको भूमिका प्रभावकारी रूपमा निर्वाह गर्नुस्,’ उनले भने, ‘मन्त्रालयबाट कुनै हस्तक्षेप हुँदैन। मलाई प्रत्येक हप्ता बजारको प्रगति विवरण चाहिन्छ।’
कार्यक्रममा नवनियुक्त अध्यक्ष भट्टले सरकारको नीति र निर्देशनअनुसार पुँजी बजारको पारदर्शी, व्यवस्थित र विश्वसनीय विकासका लागि इमानदारीपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
उनले पुँजी बजार सुधारका लागि विगतमा भएका अध्ययन, सुझाव र सिफारिसहरूलाई कार्यान्वयन गर्दै बजारको दिगो विकासमा केन्द्रित हुने बताए।
प्रतिक्रिया