अपडेट

नेप्सेमा दोहोरो अंकको गिरावट, १३ वटै उपसमूह राताम्मे

सोमबार, १५ असार २०८३, १५ : २४

काठमाडौं- साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ। दिनभरको कारोबारपछि नेप्से १६.५४ अंकले घटेर २,६३२.९६ बिन्दुमा कायम भएको हो।

आज कारोबार भएका १३ वटै उपसमूहको परिसूचक ओरालो लाग्दा बजारमा व्यापक बिक्री दबाब देखिएको छ।

कारोबार रकमका आधारमा ग्लोबल आइएमई बैंक अग्रस्थानमा रह्यो। बैंकको ८ करोड ८३ लाख ६२ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको नेप्सेले जनाएको छ।

यद्यपि समग्र बजार घटे पनि केही कम्पनीका लगानीकर्ताले उल्लेख्य लाभ कमाएका छन्। टक्सार पिखुवा खोला हाइड्रोपावर, याम्बलिङ हाइड्रोपावर, स्नो रिभर्स र धौलागिरी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य क्रमशः १४.९९ प्रतिशत, १४.९९ प्रतिशत, १४.९९ प्रतिशत र १४.९८ प्रतिशतले बढ्दै सकारात्मक सर्किट लागेको छ।

उता, स्वाभिमान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी घाटा बेहोरे। कम्पनीको सेयर मूल्य ५.८३ प्रतिशतले घटेको छ।

सोमबार ३५१ कम्पनीका ७६ लाख ९९ हजार २२७ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ६७ करोड १८ लाख ३२ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ।

सोमबार, १५ असार २०८३, १५ : २४

प्रतिक्रिया