काठमाडौं- होटल संघ नेपाल (HAN) ले बागमती प्रदेश तदर्थ समितिको अध्यक्षमा राम सुन्दर बकेलाई मनोनयन गरेको छ ।
होटल संघ नेपालका अध्यक्ष विनायक शाहद्वारा हस्ताक्षरित पत्रअनुसार असार १४ गते बसेको कार्यसमिति बैठकको निर्णयबमोजिम भक्तपुरस्थित भिलेज हाईल्याण्ड रिसोर्टका प्रबन्ध निर्देशक समेत रहेका बकेलाई बागमती प्रदेश तदर्थ समितिको अध्यक्षमा मनोनयन गरिएको हो ।
पत्रमा बागमती प्रदेशअन्तर्गत रहेका सबै जिल्लालाई समेट्दै प्रभावकारी, समावेशी र सुदृढ प्रदेश समिति गठन गर्ने जिम्मेवारी अध्यक्ष बकेलाई दिइएको उल्लेख छ । संघको विधान तथा कार्यविधिअनुसार प्रदेश समितिको गठन गरी पदाधिकारी तथा सदस्यहरूको नामावली होटल संघ नेपालको सचिवालयमा उपलब्ध गराउन पनि अनुरोध गरिएको छ ।
होटल तथा पर्यटन क्षेत्रको विकास, व्यवसायिक हित संरक्षण तथा संघको संगठनात्मक सुदृढीकरणमा सक्रिय नेतृत्वदायी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्दै होटल संघ नेपालले नवनियुक्त अध्यक्ष बकेलाई सफल कार्यकालको शुभकामना दिएको छ ।

प्रतिक्रिया