बक्यौता असुलीमा कडाइ

मन्त्रीको कडाइपछि दुई सातामै ४२ करोडभन्दा बढी बक्यौता असुल, ४५ उद्योगको बिजुली लाइन अझै काटियो

मंगलबार, १६ असार २०८३, १२ : ४३

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादवको निर्देशनपछि औद्योगिक क्षेत्रको वर्षौँदेखिको भाडा बक्यौता असुलीले गति लिएको छ। पछिल्लो दुई सातामै ४२ करोड ५४ लाख ३८ हजार रुपैयाँ बक्यौता रकम असुल भएको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले जनाएको छ।

मन्त्री यादवले वर्षौँदेखि उठ्न नसकेको भाडा तत्काल असुल गर्न निर्देशन दिएपछि लिमिटेडले बक्यौता रहेका उद्योग तथा कार्यालयविरुद्ध कडा कदम चालेको थियो।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रबन्धक पदम ओलीका अनुसार वि.सं २०४५ सालदेखि नै केही उद्योगले भाडा तिर्न बाँकी राखेका थिए। केही दिनअघि ६३५ उद्योग तथा कार्यालयलाई भाडा बुझाउन सार्वजनिक सूचना जारी गरिएपछि अधिकांश उद्योगले धमाधम बक्यौता चुक्ता गरेका छन्।

तोकिएको समयभित्र भाडा नतिर्ने उद्योगहरूको विद्युत् लाइन काट्न मन्त्री यादवले निर्देशन दिएपछि सुरुमा २०० भन्दा बढी उद्योगको बिजुली लाइन काटिएको थियो। त्यसपछि बक्यौता तिरेका उद्योगहरूको लाइन पुनः जोडिएको भए पनि अझै ४५ वटा कम्पनीको विद्युत् आपूर्ति बन्द रहेको महाप्रबन्धक ओलीले जानकारी दिए।

उनका अनुसार बक्यौता पूर्ण रूपमा चुक्ता नभएसम्म ती उद्योगहरूको विद्युत् लाइन पुनः जडान नगर्न मन्त्री यादवले स्पष्ट निर्देशन दिएकी छन्।

बक्यौता धेरै रहेका उद्योगमध्ये कन्टिनेन्टल कम्पोनेन्ट एन्ड सर्भिसेज प्रालिको करिब ३ करोड ६९ लाख रुपैयाँ तथा सोही सञ्चालकको अर्को कम्पनी कन्टिनेन्टल सर्भिसेज प्रालिको करिब १ करोड रुपैयाँ भाडा अझै उठ्न बाँकी रहेको लिमिटेडले जनाएको छ। यी दुवै उद्योगको विद्युत् लाइन काट्ने प्रक्रिया अघि बढाइएको छ।

महाप्रबन्धक ओलीले भाडा तिर्न आनाकानी गर्ने र विभिन्न माध्यमबाट दबाब सिर्जना गर्ने प्रयास भए पनि मन्त्री यादवको स्पष्ट अडानका कारण छोटो समयमै ठूलो परिमाणमा बक्यौता असुल गर्न सफल भएको बताए।

मंगलबार, १६ असार २०८३, १२ : ४३

प्रतिक्रिया