एजेन्सी - अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल (क्रुड आयल) को मूल्य उल्लेख्य रूपमा घटेपछि इन्धनको खुद्रा मूल्य घटाउन विश्वव्यापी दबाब बढेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पेट्रोल पम्प सञ्चालक र इन्धन विक्रेताहरूलाई तत्काल पेट्रोल र डिजेलको मूल्य घटाउन आग्रह गर्दै ढिलाइ गरे कानुनी कारबाहीसमेत हुन सक्ने चेतावनी दिएका छन्।
आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसल मार्फत ट्रम्पले हालको कच्चा तेलको मूल्यका आधारमा उपभोक्ताबाट आवश्यकताभन्दा बढी रकम असुल भइरहेको दाबी गरेका छन्।
उनले इन्धनको मूल्य तत्काल समायोजन गर्नुपर्ने भन्दै, अन्यथा विक्रेताहरूले कानुनी तथा व्यावहारिक चुनौतीको सामना गर्नुपर्ने बताएका छन्।
पछिल्ला केही सातायता अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा घटेको छ। अहिले ब्रेन्ट क्रुड प्रतिब्यारेल ७२–७३ अमेरिकी डलर र डब्ल्युटीआई क्रुड ६९–७० अमेरिकी डलरको हाराहारीमा कारोबार भइरहेको छ। अघिल्लो महिनाको तुलनामा मात्रै ब्रेन्ट क्रुडको मूल्य २० प्रतिशतभन्दा बढीले घटिसकेको छ।
यसअघि अमेरिका–इजरायल र इरानबीचको तनावका कारण मध्यपूर्वमा आपूर्ति अवरुद्ध हुने चिन्ताले ब्रेन्ट क्रुडको मूल्य ११० डलरभन्दा माथिसम्म पुगेको थियो।
तर युद्धविरामको अवस्था, प्रमुख व्यापारिक मार्ग पुनः सञ्चालन र आपूर्ति प्रणाली सहज बन्दै गएपछि कच्चा तेलको मूल्य युद्धअघिको स्तरभन्दा पनि तल झरेको छ।
यद्यपि अन्तर्राष्ट्रिय बजारमा कच्चा तथा प्रशोधित पेट्रोलियम पदार्थको लागत घटे पनि नेपाली उपभोक्ताले त्यसको प्रत्यक्ष लाभ पाउन सकेका छैनन्।
नेपाल आयल निगमले हालसम्म इन्धनको मूल्यमा उल्लेख्य समायोजन नगर्दा उपभोक्तामाथि अतिरिक्त आर्थिक भार परिरहेको छ।
प्रतिक्रिया