साउदी सरकारद्वारा ३३ नेपाली कैदीलाई माफी, छिट्टै स्वदेश फर्किने

मंगलबार, १६ असार २०८३, १६ : ४७

काठमाडौं- साउदी अरब सरकारले विभिन्न कारागारमा सजाय भोगिरहेका ३३ जना नेपाली नागरिकलाई शाही माफी दिएको छ। रमजान महिनाको अवसरमा साउदी सरकारले उनीहरूलाई आममाफी प्रदान गरेको हो।

नेपाल सरकारको परराष्ट्र मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै नेपाली नागरिकलाई शाही माफी प्रदान गरेकोमा साउदी अरब सरकारप्रति हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गरेको छ।

मन्त्रालयका अनुसार नेपाल सरकारले साउदी सरकारको यस सहृदय निर्णयलाई नेपाल–साउदी अरबबीचको लामो समयदेखिको मित्रता, सद्भाव तथा प्रगाढ द्विपक्षीय सम्बन्धको प्रतीकका रूपमा लिएको छ।

परराष्ट्र मन्त्रालयले रियादस्थित नेपाली दूतावासमार्फत नेपाल सरकारले गरेको विशेष अनुरोधका आधारमा साउदी सरकारले ती नेपाली कैदीलाई शाही माफी प्रदान गरेको स्पष्ट पारेको छ।

शाही माफी प्राप्त गरेका नेपाली नागरिकले साउदी अरबको आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि छिट्टै स्वदेश फर्कने मन्त्रालयले जनाएको छ।

मंगलबार, १६ असार २०८३, १६ : ४७

प्रतिक्रिया