फाइल फोटो
काठमाडौं- नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल तथा एलपी ग्यासको मूल्यमा उल्लेख्य कटौती गरेसँगै राजधानीका पेट्रोल पम्पमा उपभोक्ताको भीड लागेको छ।
बुधबारदेखि लागू भएको नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर २० रुपैयाँले घटेपछि काठमाडौंको भद्रकालीस्थित पेट्रोल पम्पमा बिहानैदेखि सवारीसाधनको लामो लाइन देखिएको हो।
मूल्य समायोजनको सूचना सार्वजनिक भएसँगै धेरै उपभोक्ता सस्तो दरमा इन्धन भर्न पम्प पुगेका कारण काठमाडौंका केही पेट्रोल पम्पमा सेवा प्रभावित भएको छ भने कतिपय पम्प केही समयका लागि बन्दसमेत भएका छन्।
नयाँ मूल्यसूचीअनुसार तेस्रो वर्गअन्तर्गत पर्ने काठमाडौं, पोखरा र दिपायलमा अब पेट्रोल प्रतिलिटर १९७ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर १९५ रुपैयाँमा बिक्री हुनेछ। यसअघि यी क्षेत्रमा पेट्रोलको मूल्य २१७ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य २२५ रुपैयाँ प्रतिलिटर थियो।
त्यसैगरी, पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, वीरगन्ज, भलवारी, नेपालगन्ज र धनगढीमा पेट्रोलको मूल्य प्रतिलिटर १९४ रुपैयाँ ५० पैसा तथा डिजेल र मट्टितेलको मूल्य १९२ रुपैयाँ ५० पैसा कायम गरिएको छ।
दोस्रो वर्गमा पर्ने सुर्खेत र दाङमा पेट्रोल प्रतिलिटर १९६ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर १९४ रुपैयाँ निर्धारण गरिएको निगमले जनाएको छ।
हवाई इन्धन (आन्तरिक) को मूल्य पनि घटाएर प्रतिलिटर २२९ रुपैयाँ कायम गरिएको छ। अन्तर्राष्ट्रिय हवाई इन्धनतर्फ काठमाडौंका लागि प्रतिकिलोलिटर १,५६६ अमेरिकी डलर, पोखराका लागि १,१०० अमेरिकी डलर र भैरहवाका लागि १,०८५ अमेरिकी डलर निर्धारण गरिएको छ।
उपभोक्तालाई अर्को राहतस्वरूप खाना पकाउने एलपी ग्यासको मूल्य पनि प्रतिसिलिन्डर १०० रुपैयाँले घटाइएको छ। अब १४.२ किलोग्रामको एक सिलिन्डर ग्यास २,०६० रुपैयाँमा उपलब्ध हुनेछ। यसअघि यसको मूल्य २,१६० रुपैयाँ थियो।
निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा आएको गिरावट तथा इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त नयाँ खरिद मूल्यका आधारमा स्वचालित मूल्य प्रणालीअनुसार इन्धनको मूल्य समायोजन गरिएको हो।
प्रतिक्रिया