अपडेट

काठमाडौं-नौबिसे यात्रा अब सुरुङमार्गबाट, साउनदेखि सञ्चालनको तयारी

विहीबार, १८ असार २०८३, ११ : ३१

काठमाडौं– नेपालको पहिलो सडक सुरुङमार्गका रूपमा निर्माण गरिएको नागढुंगा सुरुङमार्ग आगामी साउन महिनादेखि सञ्चालनमा ल्याउने तयारी अन्तिम चरणमा पुगेको छ। सञ्चालनअघि गरिनुपर्ने प्राविधिक परीक्षण र सुरक्षा प्रणालीको मूल्यांकन तीव्र रूपमा अघि बढाइएको छ।

यसक्रममा सुरुङमार्ग सञ्चालन तथा मर्मतसम्भारमा प्रयोग हुने विशेष सवारीसाधन र उपकरणको परीक्षण सम्पन्न गरिएको छ। परीक्षणका क्रममा नियमित निरीक्षण, सरसफाइ, मर्मतसम्भार, आपत्कालीन उद्धार तथा दुर्घटना व्यवस्थापनमा प्रयोग हुने उपकरणको कार्यक्षमता मूल्यांकन गरिएको परियोजनाले जनाएको छ।

साथै, सुरुङभित्र जडान गरिएका सुरक्षा प्रणाली, भेन्टिलेसन, विद्युत् आपूर्ति, अग्नि नियन्त्रण, सञ्चार, सीसीटीभी निगरानी तथा ट्राफिक व्यवस्थापन प्रणालीको अन्तिम परीक्षणसमेत जारी रहेको छ। यी सबै प्रक्रिया सम्पन्न भएपछि सुरुङमार्ग सर्वसाधारणका लागि खुला गरिने तयारी छ।

नागढुंगा सुरुङमार्गको शिलान्यास तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ कात्तिक ४ गते गरेका थिए। जापान सरकारको सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण गरिएको यस परियोजनाको मुख्य निर्माण जिम्मेवारी जापानी कम्पनी हाज्मा–आन्दो कर्पोरेशनले निर्वाह गरेको हो। परियोजनाको कुल लागत करिब २२ अर्ब रुपैयाँ रहेको छ।

करिब २।६८ किलोमिटर लामो मुख्य सुरुङसँगै आपत्कालीन उद्धारका लागि छुट्टै सुरुङ निर्माण गरिएको छ। यसका अतिरिक्त पहुँच सडक, फ्लाइओभर, पुल तथा अन्य सहायक संरचनाहरू समेत निर्माण सम्पन्न भइसकेका छन्।

सञ्चालनमा आएपछि नागढुंगा–नौबिसे सडकखण्डको ट्राफिक जाम कम हुनुका साथै काठमाडौं उपत्यका प्रवेश गर्ने सवारीसाधनको यात्रा थप सुरक्षित, सहज र छिटो हुने अपेक्षा गरिएको छ।

विहीबार, १८ असार २०८३, ११ : ३१

प्रतिक्रिया