लालपुर्जा वितरण सुरु

सरकारको भूमिहीनलाई लालपुर्जा अभियान सुरु, पहिलो चरणमा २९ परिवार लाभान्वित

विहीबार, १८ असार २०८३, १२ : २६

काठमाडौं- सरकारले भूमिहीन नागरिकलाई जग्गाको कानुनी स्वामित्व दिलाउने अभियानअन्तर्गत बर्दियाबाट जग्गाधनी प्रमाणपूर्जा (लालपुर्जा) वितरण सुरु गरेको छ।

अभियानअन्तर्गत बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका–४ का २९ जना भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासी परिवारलाई लालपुर्जा वितरण गरिएको हो। लालपुर्जा प्राप्त गरेसँगै उनीहरू कानुनी रूपमा जग्गाधनी बनेका छन्।

लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्वबाट वञ्चित रहेका स्थानीयले अब बैंकिङ सेवा, ऋण सुविधा तथा अन्य सरकारी सेवामा पनि सहज पहुँच प्राप्त गर्ने भएका छन्।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका अनुसार भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या दीर्घकालीन रूपमा समाधान गर्दै उनीहरूलाई कानुनी रूपमा जग्गाधनी बनाउने सरकारको लक्ष्यअनुसार लालपुर्जा वितरण अभियानलाई देशभर प्रभावकारी रूपमा विस्तार गरिनेछ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले भूमिहीन नागरिकको समस्या समाधान सरकारको उच्च प्राथमिकतामा रहेको बताइन्। उनका अनुसार बर्दियाबाट सुरु भएको अभियानलाई क्रमशः अन्य जिल्लामा पनि विस्तार गर्दै वास्तविक भूमिहीन नागरिकलाई जग्गाको कानुनी स्वामित्व प्रदान गरिनेछ।

सरकारले लालपुर्जा वितरण अभियानले भूमिहीन नागरिकको सामाजिक तथा आर्थिक सशक्तीकरणका साथै राज्यको सेवा–सुविधामा उनीहरूको पहुँच थप सहज हुने विश्वास व्यक्त गरेको छ।

विहीबार, १८ असार २०८३, १२ : २६

प्रतिक्रिया