काठमाडौं- दैलेखमा यात्रुवाहक मिनीबस (फोर्स गाडी) कर्णाली नदीमा खस्दा एक जनाको अचेत अवस्थामा उद्धार गरिएको छ।
प्रहरीका अनुसार सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी बिहीबार बिहान करिब ११ः३० बजे दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ अन्तर्गत कर्णाली राजमार्गको साङगेतरा क्षेत्रमा दुर्घटनामा परेको हो।
गाडी सडकबाट करिब ४०० मिटर तल कर्णाली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी लक्ष्मण पचभैयाका अनुसार घटनास्थलबाट एक जनालाई अचेत अवस्थामा उद्धार गरिएको छ। अन्य यात्रुको अवस्था खुल्न बाँकी रहेको छ भने गाडीमा कति जना सवार थिए भन्ने विवरण पनि यकिन हुन सकेको छैन।
दुर्घटनापछि उद्धार सामग्रीसहित ३५ जना प्रहरीको टोली घटनास्थलमा परिचालन गरिएको प्रहरीले जनाएको छ। बिहान साढे ११ बजे दुर्घटनाको सूचना प्राप्त हुनासाथ उद्धार टोली खटिएको सूचना अधिकारी पचभैयाले बताए।
घटनास्थल प्रहरी चौकी पाल्तडाबाट करिब ३ किलोमिटर उत्तर तथा जिल्ला प्रहरी कार्यालय दैलेखबाट करिब ५० किलोमिटर पश्चिम रहेको छ। प्रहरीले उद्धार कार्य जारी रहेको जनाएको छ।
प्रतिक्रिया