अपडेट

नेप्सेमा सामान्य सुधार, ८.७८ अंकले बढ्दा ४ अर्ब ११ करोडको कारोबार

विहीबार, १८ असार २०८३, १५ : १९

काठमाडौं- साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य सुधार देखिएको छ। बिहीबार नेप्से ८.७८ अंकले बढेर २,६६१.७१ विन्दुमा पुगेर बन्द भएको हो।

आज नेप्सेमा सूचीकृत ३५९ कम्पनीका ८९ लाख ६४ हजार २२३ कित्ता सेयर खरिद–बिक्री हुँदा ४ अर्ब ११ करोड ७७ लाख ८५ हजार ७०० रुपैयाँ बराबरको कारोबार भएको छ।

कारोबारको सुरुवाती चरणमा बजार केही दबाबमा देखिए पनि दिउँसो करिब १:४५ बजेपछि खरिद चाप बढ्दै जाँदा बजारले सुधारको लय समातेको थियो। कारोबार बन्द हुँदा परिसूचक दिनकै उच्च विन्दुनजिक पुगेको थियो।

आज अपर लोहोरे हाइड्रोपावर र कलङ्गा हाइड्रोको सेयर मूल्य १५ प्रतिशतले वृद्धि भएको छ। त्यस्तै स्नो रिभर लिमिटेड र सानिगढ हाइड्रोपावरका लगानीकर्ताले पनि सकारात्मक सर्किटको लाभ उठाएका छन्। धवलागिरी लघुवित्त र आत्मनिर्भर लघुवित्तको सेयर मूल्य पनि दोहोरो अंकले बढेको छ।

यद्यपि, परिसूचक सकारात्मक रहे पनि बजारमा घट्ने कम्पनीको संख्या बढ्नेभन्दा धेरै रहेको छ। आज १०८ कम्पनीको सेयर मूल्य बढ्दा १५२ कम्पनीको मूल्य घटेको छ भने १३ कम्पनीको मूल्य स्थिर रहेको छ।

कारोबार रकमका आधारमा लक्ष्मी सनराइज बैंक अग्रस्थानमा रह्यो। बैंकको ४१ करोड ३२ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। त्यसपछि एनआईसी एसिया डिबेन्चरको ४० करोड ७७ लाख रुपैयाँ र रसुवागढी हाइड्रोपावरको २५ करोड २९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

समूहगत परिसूचकतर्फ बैंकिङ उपसमूहमा उल्लेख्य सुधार देखिएको छ। आज बैंकिङ समूहको परिसूचक २.०४ प्रतिशतले बढेको नेप्सेले जनाएको छ।

विहीबार, १८ असार २०८३, १५ : १९

प्रतिक्रिया