अपडेट

११ जिल्लामा बर्डफ्लूको संक्रमण, उच्च सतर्कता अपनाउन आग्रह

शुक्रबार, १९ असार २०८३, १० : ४२

काठमाडौं– नेपालका ११ जिल्लामा बर्डफ्लू (एभियन इन्फ्लुएन्जा) को संक्रमण पुष्टि भएपछि पशु सेवा विभागले रोग नियन्त्रण तथा रोकथामका लागि उच्च सतर्कता अपनाएको छ। विभागले संक्रमण देखिए पनि आवश्यक सावधानी अपनाउँदा आत्तिनुपर्ने अवस्था नरहेको भन्दै किसान र उपभोक्तालाई सचेत रहन आग्रह गरेको छ।

कृषि, वन तथा वातावरण मन्त्रालयअन्तर्गतको पशु सेवा विभागका महानिर्देशक उमेश दाहालका अनुसार बर्डफ्लू मुख्यतः जंगली पन्छी, बसाइँ सर्ने चराचुरुङ्गी तथा कागमार्फत फैलिने भएकाले व्यावसायिक कुखुरा फार्ममा जैविक सुरक्षा (बायो–सेक्युरिटी) कडाइका साथ लागू गर्न आवश्यक छ।

उनले कुखुरा पालकलाई फार्ममा बाहिरी चराचुरुङ्गी प्रवेश गर्न नदिने, नियमित रूपमा निसंक्रमण गर्ने, अपरिचित व्यक्ति तथा सवारीसाधनको आवतजावत नियन्त्रण गर्ने र कुनै असामान्य लक्षण देखिए तत्काल नजिकको पशु सेवा केन्द्रमा जानकारी गराउन आग्रह गरेका छन्।

हालसम्म झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासी, काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेमा संक्रमण पुष्टि भएको विभागले जनाएको छ। तीमध्ये झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा संक्रमण सुरुकै चरणमा पहिचान गरी नियन्त्रणमा ल्याइएको दाबी गरिएको छ।

रोग नियन्त्रणलाई प्रभावकारी बनाउन विभागले उपमहानिर्देशकको नेतृत्वमा ‘बर्डफ्लू रोग नियन्त्रण कक्ष’ स्थापना गरेको छ। संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गरी संक्रमित क्षेत्रमा नियन्त्रण अभियान सञ्चालन भइरहेको विभागले जनाएको छ।

यस्तै, पशु क्वारेन्टाइन कार्यालयहरूले सीमा नाका तथा उच्च जोखिम क्षेत्रमा निगरानी बढाएका छन्। अवैध रूपमा भित्रिने तथा शंकास्पद पन्छी नियन्त्रण गर्न सुरक्षा निकायसँग समन्वय गरिएको विभागले जनाएको छ।

यसैबीच, सर्वसाधारणलाई सचेत गराउन स्वास्थ्य तथा खाद्य स्वच्छतासम्बन्धी निकायहरूले मोबाइल रिङटोनमार्फत बर्डफ्लूबारे जनचेतनामूलक सन्देश प्रसारण सुरु गरेका छन्। विभागका अनुसार यसले किसान र नागरिकलाई रोगका लक्षण तथा बच्ने उपायबारे जानकारी दिन सहयोग पुगेको छ।

सरकारले रोग नियन्त्रणका सबै संयन्त्र परिचालन गरिसकेको उल्लेख गर्दै विभागले सही सूचना मात्र विश्वास गर्न, स्वस्थ कुखुरा तथा कुखुराजन्य उत्पादनको उपभोग गर्न र आवश्यक सावधानी अपनाउन सबैमा अपिल गरेको छ।

शुक्रबार, १९ असार २०८३, १० : ४२

प्रतिक्रिया